काठमाडौं-पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा (एमाले)का कार्यकर्ताले देशभर आन्दोलन गरेका छन्।
शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त बनेको हो। भीड नियन्त्रणका लागि प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको छ भने केही स्थानमा सवारी आवागमन समेत प्रभावित भएको छ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपको स्थिति समेत सिर्जना भएको थियो । त्यसैक्रममा सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने एक जना घाइते भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो।
पक्राउ परेका सातै जनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको एसपी भट्टराईले जानकारी दिए ।
सुरक्षामा खटिएका प्रहरीहरुले संयमित भई प्रदर्शन गर्न र सडक अवरोध हटाउन आग्रह गरेका थिए । प्रदर्शनकारीहरुले ठाउँ–ठाउँमा टायर बालेर सडक अवरोध गरेका थिए ।
प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले एक राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो। अध्यक्ष ओलीको पक्राउको विरोधमा आज एमाले कार्यकर्ताहरूले देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए।









प्रतिक्रिया