काठमाडौं- जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न आदेश दिएको छ।
आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिँदै प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेश जारी गरेको हो। ‘केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न यो आदेश गरिदिएको छ’, अदालतको आदेशमा भनिएको छ।
प्रहरीले शनिबार बिहानै पक्राउ गरेर पूर्वप्रधानमन्त्री ओली र उनी नेतृत्वकै सरकारका गृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो। लेखकलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइए पनि ओलीलाई भने भिडिओ कल गरेर सोधिएको थियो। इजलासको भिडिओ कलमा केहीबेर बसेर ओली बाहिरिएका थिए।
ओलीलाई हिजो (शनिबार) बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। पक्राउपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। उनको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको अस्पतालले जनाएको छ। लेखकलाई भने २ नम्बर गणको प्रहरी हिरासतमा राखिएको छ।






प्रतिक्रिया