काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक र जनताको हित तथा बेथितिविरुद्ध संघर्ष गर्न एमाले एक्लै परे पनि चिन्ता नगर्ने बताएका छन्।
सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले आवश्यक परे एमाले एक्लै सडकमा उत्रिने बताएका हुन् ।
एमाले कहिले एक्लै त कहिले अन्य दलसँग सहकार्य गर्दै अघि बढ्दै आएको उनको भनाइ छ।
महासचिव पोखरेलले भने ‘एमाले एक्लै भयो भनेर चिन्ता गर्दैन। हामीले जति छिटो समस्या बुझ्छौँ, अरूलाई त्यो बुझ्न समय लाग्न सक्छ। मुलुक लोकप्रियतावादको आवरणमा अधिनायकवादतर्फ उन्मुख भइरहेको छ।’
महासचिव पोखरेलले सत्ता समर्थित पक्षले अराजक ढङ्गले लोकतन्त्रमा बोल्ने अधिकार नै कुण्ठित गर्न खोजिरहेको आरोप लगाए।
महासचिव पोखरेलले भने, ‘यो लोकतान्त्रिक चरित्र होइन, यसले समाजलाई लोकतन्त्रबाट विचलित गर्ने खतरा बढाउँछ। हामी सडक, सदन र संवाद तीनै मोर्चामा संघर्ष अघि बढाउँछौँ। हाम्रो पार्टीको उद्देश्य सरकारलाई काम गर्न अवरोध गर्नु नभई संविधान, कानून र न्यायविपरीतका गतिविधिविरुद्ध असहमति जनाउनु हो।’
महासचिव पोखरेलले सरकारले मुठभेड, भय र आतङ्क सिर्जना गर्दै स्वेच्छाचारी शासनतर्फ उन्मुख भइरहेको समेत आरोप लगाए।






प्रतिक्रिया