अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्बोडिबाट ८ नेपालीको उद्धार

कम्बोडिबाट ८ नेपालीको उद्धार


काठमाडौं-विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अवैध अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा फसेका थप ८ जना नेपालीको उद्धार गरिएको छ। 

बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) को समन्वयमा उद्धार गरिएका उनीहरू आज स्वदेश फर्किएका हुन्।

दूतावासका अनुसार आकर्षक तलबको लोभमा भिजिट भिसामा कम्बोडिया पुगेर बन्धक बन्ने र अनलाइन ठगीमा लाग्न बाध्य हुने नेपालीहरूको संख्या बढ्दो छ। समस्यामा परेकाहरु कैयनलाई नेपाल फर्काइसकिएको छ । 

 सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२५ मा यो संख्या बढेर ९,६७६ पुगेको डरलाग्दो तथ्यांक दूतावासले सार्वजनिक गरेको छ।

स्क्यामिङ केन्द्रहरूले कामदारको राहदानी जफत गरिदिने गरेको गुनासो बढेपछि दूतावासले अलपत्र नेपालीलाई स्वदेश फर्काउन निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गर्ने व्यवस्था मिलाएको छ। दूतावासले कम्बोडियामा अलपत्र वा भिसा अवधि सकिएर बसेका नेपालीहरूलाई तत्काल राजदूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।
साथै, दूतावासले छिटो र धेरै पैसा कमाउने लोभमा भिजिट भिसाको बहाना बनाई कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकमा नजान आग्रह गरेको छ।