काठमाडौं-ललितपुर जिल्ला अदालतले खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएको छ।
अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै खाजाको समयमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको हो।
‘यस अदालतमा कार्यरत कर्मचारीहरुका लागि दिउँसोको खाजा समय प्रत्येक आईतबारदेखि बिहीबारसम्म १ः३० बजेदेखि २ः३० बजेसम्म र शुक्रबार १ः०० देखि २ः०० सम्म तोकि सो समयमा अदालतको सेवा प्रवाह रोकावट हुने गरेकाले आज मिति २०८२/१२/१७ देखि अदालतको खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको व्यहोरा सम्पूर्ण सेवाग्राहीको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’ अदालतले सूचनामा भनेको छ।

‘खाजा समय’ भनेर कर्मचारीका लागि सहज अवधि छुट्याइए पनि एकैसाथ कर्मचारीले कुर्सी छोडेर हिँड्दा कर, यातायात, मालपोत, नापी, जिल्ला प्रशासन, इलाका प्रशासन, राहदानी विभाग र स्थानीय तहका कार्यालयमा सेवा लिन जाने सेवाग्राहीहरुले सास्ती भाेगिरहेका थिए ।
‘खाजा समय’ भयो भन्दै कर्मचारीहरु घडी हेर्दै कार्यालयबाट बाहिरन्थे। कार्यालय नै सुनसान बनाएर कर्मचारीहरु एकसाथ हिँडेपछि सेवाग्राहीहरु घण्टाै कुर्नु पर्थ्याे । किनक कर्मचारीहरु खाजा खाएर एक घण्टामा पनि फर्किंदैनन्थ्यो। खाजा खाने समयका नाममा सरकारी कार्यालयहरुमा मौलाएको बेथितिले धेरैलाई हैरान बनाइरहेकाे थियाे ।
अब ललितपुर जिल्ला अदालतले खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएकाे छ।






प्रतिक्रिया