अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखको निर्वाचन चैत २२ गते हुने

सभामुखको निर्वाचन चैत २२ गते हुने

सर्वदलीय बैठक


काठमाडौं-प्रतिनिधि सभाका सभामुखको निर्वाचन २०८२ चैत २२ गते हुने भएको छ। चैत १८ गते बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने बैठकले यही चैत २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो।

आज बसेको सर्वदलीय बैठकमा २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

प्रतिनिधि सभाको पहिलो बैठकमा निर्वाचनसम्बन्धी प्रस्ताव हुने २० गते मनोनयन हुने उनले बताए।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो २ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेका छन् ।

 रास्वपाले सभामुखमा पार्टीका उपसभापति डोल प्रसाद (डीपी) अर्यालको नाम करिब करिब टुङ्गो लागिसकेको छ। अर्याल दुई पटक सरकारको श्रम तथा रोजगारमन्त्री बनिसकेका छन् । सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेल जाँदा उनले कार्यवाहक सभापति बनेर पार्टी हाँकेका थिए ।

गत पुसको पहिलो हप्ता रिहा भएका रविले प्रतिकूल अवस्थामा पनि पार्टीलाई क्षति हुनबाट जोगाएकोमा अर्यालको प्रशंसा गरेका थिए । रविको जोडबल अर्याललाई गृहमन्त्री बनाएर पार्टीको कार्यकारी भूमिकामा सक्रिय बनाउने चाहना भए पनि वरिष्ठ नेता बालेन र रविबीच यसबारे कुरा नमिल्दा सुधन गुरुङलाई गृहमन्त्री बनाइएको हो । यससँगै अर्याललाई सभामुख बनाउने पार्टीको तयारी छ ।

आचार्यले पनि अर्याल नै सभामुख बन्न सक्ने सङ्केत गरे। तर उपसभामुख कुन दललाई दिने भन्ने विषयमा छलफल नभएको उनले स्पष्ट पारे । संसदको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनमा सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुख फरक लिङ्ग र दलबाट हुनुपर्ने व्यवस्था छ । यी दुवै पद संवैधानिक परिषद् सदस्य रहने हुनाले पनि सबैको चासो देखिएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधान न्यायाधीश, प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहनेछन् । परिषदले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा सिफारिस गर्छ ।