काठमाडौ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहूद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।
संसद्का बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । सङ्घीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ ।
राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो ।
आजको बैठकमा संसदीय दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसुची रहेको छ ।






प्रतिक्रिया