काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सहभागी विद्यार्थीहरूलाई सफलताका लागि शुभकामना दिएका छन्।
चैत १९ गते बिहीबार बिहान ८ बजे एसईई सुरु भइसकेपछि शिक्षामन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परीक्षार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका हुन्।
‘आजबाट सुरु एसईईमा सहभागी सबै विद्यार्थीहरूलाई हार्दिक शुभकामना’, शिक्षामन्त्री पोखरेलले लेखेका छन्, ‘याद राख्नुहोस्, यो अन्तिम होइन, तपाईंको यात्राको एउटा महत्वपूर्ण सुरुवात मात्र हो।’
यस क्रममा शिक्षामन्त्री पोखरेलले परीक्षामा सहभागी हुँदा डर वा तनाव नलिई धैर्यताका साथ उत्तर लेख्न र सकेसम्म राम्रो गर्न सुझाव पनि दिएका छन्।
‘परीक्षा भनेको जीवनको एउटा सानो हिस्सा मात्र हो, त्यसैले डर वा तनावले आफूलाई हाबी हुन दिनु हुँदैन। तपाईंहरूले वर्षभरि गरेको मिहिनेत, त्याग र तयारी नै आजको सबैभन्दा ठूलो शक्ति हो’, शिक्षामन्त्री पोखरेलले लेखेका छन्, ‘नयाँ वातावरण वा दबाबका बिच पनि शान्त रहनुहोस् र आफूमा विश्वास राख्नुहोस्। धैर्यताका साथ प्रश्नहरू समाधान गर्नुहोस् र सक्दो राम्रो प्रयास गर्नुहोस्। अरूसँग तुलना गर्न होइन, आफ्नै प्रगति र आत्मविश्वासका लागि परीक्षा दिनुहोस्।’
यस वर्ष एसईई परीक्षार्थीको संख्या ५ लाख १२ हजार ४२१ छ। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना छन्। यस वर्षको एसईई परीक्षार्थीमा छात्राको सङ्ख्या बढी छ। २ लाख ५७ हजार ६१३ छात्रा हुँदा छात्रको संख्या २ लाख ५४ हजार ८०१ छ। अन्य ७ जना छन्। जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन्।
परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ।






प्रतिक्रिया