काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले एमसीसी खारेज गर्न माग गरेका छन्। चैत १९ गते बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै सांसद साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेजीको माग गरेका हुन्।
‘देशको स्वाधिनता, भूराजनीति, सैन्य रणनीतिका साथ ल्याइएको एमसीसी खारेज गर्नुपर्छ,’ सांसद साम्पाङले बैठकमा भने, ‘सीमावर्ती क्षेत्रमा नेपाल सरकारले निगरानी राख्नुपर्छ।’
सांसद साम्पाङले सबै सांसदको सम्पत्ति छानबिन गर्न पनि माग गरे। शिक्षालाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्छ, सरकारले त्यसमा ध्यान देओस्,’ सांसद साम्पाङले। उनले जीवनोपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिए।
सांसद साम्पाङले समयको ख्याल गर्न पनि सबैसँग आग्रह गरे। ‘१६ मिनेट ५५ सेकेण्ड हामी ढिला भयौ। जनताले हामीलाई ढिला गर भनेर यहाँ पठाएको जस्तो मलाई लाग्दैन’ उनले भने, ‘नेपाल हो, नेपाली हो भन्ने जुन भाष्य मनमा लिएर बसेका छौँ, यो गलत हो। आउँदा दिन बैठक सुरु हुनुभन्दा थोरै ५ मिनेट अघि आउनुपर्छ।’
सांसद राईले संसदभित्र विभेद भएको गुनासो पनि गरे। ‘हामी पनि जनताले चुनेका जनप्रतिनिधि हौँ। जनताका माग राख्न प्रसस्त समय दिनुपर्छ।’






प्रतिक्रिया