अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख चयनको लागि भोलि मनोनय दर्ता

सभामुख चयनको लागि भोलि मनोनय दर्ता


काठमाडौं-संसद सचिवालयले सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका निकालेको छ। संसद सचिवालयले २०८२ चैत २२ गते आइतबार सभामुखको निर्वाचन गर्ने तयारी गरेको छ। सोही अनुसार कार्यतालिका निकालेको हो।

‘प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन २०८८२ चैत २२ गते आइतबार विहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गर्ने गरी माननीय ज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय निर्धारण गरिएकाेले सोही नियमावलीको नियम ७ को उपनियम (१) को प्रयोजनको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ,’ संसद सचिवालयले सूचनामा भनिएको छ।

सूचना अनुसार शुक्रबार प्रतिनिधि सभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् प्रस्तावको सूचना अर्थात् उम्मेदवारी दर्ता हुनेछ। उक्त उम्मेदवारी दर्ताको प्रस्ताव बिहान ११ बजेदेखि बजेदेखि दिउँसो २ः०० बजेसम्म गरिसक्नुपर्नेछ।

शुक्रबार दिउँसो २ः३० बजे संसद सचिवालयले उम्मेदवारको नामावली प्रकाशित गर्नेछ। उक्त दिन प्रतिनिधि सभाको बैठकमा प्रारम्भ भएपछि उम्मेदवारहरूका प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन्।

उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

वर्तमान संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका झण्डै दुई तिहाइ (१८२ जना) सांसद छन्। रास्वपाले पार्टी उपसभापति डिपी अर्यालले उम्मेदवार प्रस्ताव गरेको छ। आज बसेको संसदीय दल बैठकले अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

सभामुख चयन प्रक्रिया

निर्वाचनपछि बनेको प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संविधानमा व्यवस्था छ। त्यो बेलासम्म निर्वाचित सांसदहरूमध्येका ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था पनि संविधानमा छ। अहिले ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद ७८ वर्षीय अर्जुननरसिंह केसी छन्। उनले सभामुख निर्वाचित नहुँदासम्म सभाको अध्यक्षता गर्नेछन्। 

संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख शीर्षकमा लेखिएको छ, ‘प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफू मध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने छन्।’

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ मा सभामुखको निर्वाचन बैठकको अध्यक्षता गर्ने व्यक्तिले तोकेको दिनमा हुने र त्यसको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवले प्रकाशन गर्ने उल्लेख छ। 

सचिवालयले कार्यतालिका सार्वजनिक गरेपछि संसद्मा प्रतिनिधित्व गर्ने कुनै दलको एक सदस्यले अर्को सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव दर्ता गर्नुपर्ने हुन्छ। प्रस्ताव दर्ता भएपछि प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिनेछ। प्रस्ताव गरिएको सदस्य निर्विरोध भएमा ज्येष्ठ सदस्यले निर्वाचित भएको घोषणा गर्नेछन्। प्रतिस्पर्धा भएमा निर्वाचन हुनेछ।

सचिवालयले कार्यतालिका सार्वजनिक गरेपछि संसद्मा प्रतिनिधित्व गर्ने कुनै दलको एक सदस्यले अर्को सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव दर्ता गर्नुपर्ने हुन्छ। प्रस्ताव दर्ता भएपछि प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिनेछ। प्रस्ताव गरिएको सदस्य निर्विरोध भएमा ज्येष्ठ सदस्यले निर्वाचित भएको घोषणा गर्नेछन् । प्रतिस्पर्धा भएमा निर्वाचन हुनेछ।

निर्णयार्थ प्रस्तुत गर्दा दस्तखतसहितको मत विभाजन गरिन्छ । सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले सदस्यहरूलाई हुन्छ, हुन्न र मत दिन्नँ भन्ने लबिमा हस्ताक्षर गर्न पठाउँछन् ।

सदस्यहरूले दस्तखत गरेपछि संसद् सचिवालयका कर्मचारीले नतिजाको जानकारी ज्येष्ठ सदस्यलाई गराउँछन् । त्यसपछि सभामा ज्येष्ठ सदस्यले प्रतिनिधिसभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतबाट जुन प्रस्तावमा उल्लेखित सदस्यले बहुमत प्राप्त गर्छ, त्यो सदस्य सभामुखमा निर्वाचित भएको घोषणा गर्छन् । 

सभामुख निर्वाचित भएपछि सभामुखले उपसभामुखको निर्वाचनको मिति घोषणा गर्ने अभ्यास छ । संसद् सचिवालयले दलहरूसँग छलफल गरेर सभामुखको निर्वाचन सकिएलगत्तै उपसभामुखको पनि निर्वाचन हुने मिति निर्धारण गर्ने जानकारी दिएको छ ।