काठमाडौं -नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारणको निर्णय सच्चाउन सरकारलाई तीनदिने अल्टिमेटम दिएको छ ।
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्ने परिपत्र जारी गरेको विषयमा शुक्रबार (चैत २०) काठमाडौंमा सरोकारवालासँग छलफल गर्दै महासंघले उक्त निर्णय सच्चाउन सरकारलाई तीनदिने अल्टिमेटम दिने निर्णय गरेको हो ।
छलफलमा सहभागीहरूले सरकारको उक्त कदम विभेदकारी भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका थिए । छलफलमा पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णयले सञ्चारमाध्यमलाई समस्या पर्ने भएकाले सच्चाउन माग गरिन् । यस विषयमा वार्तालाई पनि सँगसँगै अघि बढाउने उनको भनाइ छ ।
सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाईसमेत जारी गरिएको परिपत्रको विरोधमा महासंघले सरोकारवालासँग छलफल गरेको थियो ।






प्रतिक्रिया