काठमाडौं- नेकपा एमालेले नेपाली सेना,कर्मचारी र कुटनीति समुदायप्रति आफ्नो पार्टीको पूर्ववत सम्बन्ध रहेको स्पष्ट पारेको छ ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले संसदमा दिएको अभिव्यक्तिमा गम्भिर छलफल गर्दै सो निर्णय गरेको हो । ‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ ’ बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बैठकले सरकारका एक हप्ताका कामका विषयमा पनि समिक्षा गर्दै कतिपय निर्णयबाट फिर्ता हुन आग्रह गरेको छ । विद्यार्थी संगठनको खारेजी,ट्रेड युनियनको खारेजी तथा निजी क्षेत्रका सञ्चार माध्यममा तीनै तहका सरकारले विज्ञापन तथा सुचना प्रकाशन प्रशारण गर्न रोक लगाएकोप्रति गम्भिर आपत्ती प्रकट गरेको छ । ‘बैठकले वर्तमान सरकारको विधार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ र सरकारलाई अविलम्ब यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ ’ महासचिव पोखरेलले जारी गरेको विज्ञप्ती पढेर सुनाउदै उपमहासचिव लेखराज भट्टले भनेका छन् ।
निजी क्षेत्रका सञ्चार माध्यममा विज्ञान रोकेर प्रेसको भूमिका कमजोर पार्ने सरकारको तयारी रहेको एमालेको ठहर रहेको छ । यस सम्बन्धमा सचिवालय बैठकको निर्णयमा भनिएको छ ‘सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरुलाई मात्र दिने सरकारको निर्णयप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको छ र यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । ’
बैठकले फागुन २१ मा भएको निर्वाचनको संक्षिप्त समिक्षा गर्दै निर्वाचन सफल गराउने सम्पूर्ण पक्षलाई धन्यवाद दिएको छ । यसैगरी भारी बहुमतका साथ सरकार गठन गरेकोमा प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद पनि प्रकट गरेको छ ।
पछिल्ला दिनमा एमालेका कार्यकर्ता खासगरी महिलाहरुप्रति लक्षित गरेर व्यापक रुपमा भइरहेको साइबर हमलाप्रति आपत्ती प्रकट गरेको छ । यस्तो अशिष्ट व्यबहारको साइबर हमलाको प्रतिवाद गर्न र कानुनी उपचार गर्न सम्पूर्ण पार्टीपंक्तीलाई एमालेले आग्रह गरेको छ । एमालेले साइबर अपराधीलाई कानुनी कारबाही गर्न सरकारसँग माग पनि गरेको छ ।
एमालेले पश्चिम एशियाली देशहरुमा भइरहेको युद्धका बिषयमा पनि ध्यान आकर्षण भएको जनाएको छ । बैठकले स्वदेश फर्कन चाहने सबैलाई सुरक्षित तरिकाले फर्कन वातावरण बनाउन सरकारसँग माग गरेको छ । ‘पश्चिम एशियमा जारी हिंसाका कारण बीसौं लाख नेपालीहरु असुरक्षित बनेका छन् । हिंसाकै कारण एक नेपालीको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा नेपाल फर्कन चाहनेहरु चिन्तित अवस्थामा छन् ’ एमाले सचिवालयको निर्णय जानकारी गराउदै उपहासचिव भट्टले भने ‘ बैठकले उनीहरुको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्किन चाहनेहरुलाई सुरक्षित तबरले फर्कने व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गरेको छ । ’








प्रतिक्रिया