काठमाडौं- मध्यपूर्वको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको आक्रमणमा घाइते भएका सबै नेपाली नागरिक खतरामुक्त रहेका छन्।
यूएईमा भएको आक्रमणमा परी सात जना नेपाली घाइते भएका थिए। घाइते भएका सबै नेपाली खतरामुक्त रहेको नेपाली दूतावासले जनाएको छ।
यूएईस्थित नेपाली दूतावासका कर्मचारीले सातै जनासँग टेलिफोन सम्पर्क गरेको र उनीहरूले खतरामुक्त रहेको जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। घाइतेमध्ये चार जनालाई दूतावासका अधिकारीले शनिबार भेटेका छन्।
उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र आवश्यक सहयोगका लागि समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बाँकी तीन जनासँग पनि छिट्टै भेट गरी आवश्यक जानकारी लिइने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।
प्रवक्ता क्षेत्रीका अनुसार घाइते भएकामध्ये ६ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। एक जना गम्भीर चोट लागेकाले उपचार जारी रहेको र उनी पनि खतरामुक्त रहेको क्षेत्रीले बताए। आफू छिट्टै अस्पतालबाट ‘डिस्चार्ज’ हुने उनले टेलिफोनमा बताएको प्रवक्ता क्षेत्रीको भनाइ छ।
यस घटनाका सम्बन्धमा जानकारी प्राप्त हुनासाथ आवश्यक समन्वयका लागि मन्त्रालयबाट दूतावासलाई निर्देशन दिइएको थियो। यूएईका सम्बन्धित निकायहरूबाट समयमै उनीहरूलाई उचित उपचारको प्रबन्ध गरिएको जनाइएको छ।






प्रतिक्रिया