बैंकक-विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका ७ जना नेपालीको उद्धार गरिएको छ।
थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरी नेपाल फर्काइएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरू चैत २२ गते कम्बोडियाबाट उडेर २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको दूतावासले जनाएको छ । दलालको फन्दामा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो ।
कतिपय भने भिसाविना नै लुकेर बसिरहेका थिए । दूतावासले यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि फर्काउने पहल निरन्तर भइरहेको जानकारी दिएको छ । कम्बोडियामा अझै पनि धेरै नेपाली नागरिकलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको र भिसा अवधि सकिएर पनि बसिरहेको सूचना दूतावासलाई प्राप्त भएको छ ।
कठिन अवस्थामा रहेका र नेपाल फर्कन चाहने नेपाली नागरिकलाई सहजीकरणका लागि तत्काल सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । अलपत्र परेकाहरूले बैंककस्थित नेपाली राजदूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरू शिवराज पराजुली, लालसिंह खड्का र रामजीकुमार क्षेत्रीलाई सम्पर्क गर्न सक्नेछन् ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०२१ मा जम्मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा यो संख्या हरेक वर्ष आकासिँदै गएको छ । सन् २०२२ मा १९७७, सन् २०२३ मा २९४० र सन् २०२४ मा ६४०४ जना नेपाली कम्बोडिया पुगेकोमा सन् २०२५ मा यो संख्या बढेर ९ हजार ६ सय ७६ पुगेको दूतावासले उल्लेख गरेको छ ।







प्रतिक्रिया