काठमाडौं-नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकमाथि प्रतिशोधको व्यवहार नगर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको चैत २३ गते सोमबारको बैठकमा बोल्दै सांसद महरले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलाई प्रतिशोध नै साध्ने हो भने अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो लागि पनि ‘डोको सुरक्षित राख्न’ चेतावनी दिए।
सांसद महरले सरकारले प्रतिशोध र पूर्वाग्रहको राजनीति गरिरहेको भन्दै संसदमा आपत्ति जनाएका छन्। उनले सरकारका पछिल्ला कदमहरू लोकतन्त्र र संविधानको मर्म विपरीत रहेको दाबी गरे।
सांसद महरले मौजुदा सरकार पनि पूर्व हुने र प्रतिशोधको पुनरावृत्ति हुनसक्ने चेतावनी दिएका हुन्। ‘हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले गैरकानुनी र गैरन्यायिक ढंगले पक्राउ गरेको छ। यो पक्राउ नेपालको संविधानको भाग ३ अन्तर्गत रहेको मौलिक हकको धारा १६, १७, १८ को विरूद्धमा छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार घोषणापत्र १९४८ को धारा ९ र १० को विपरीत छ। त्यसकारण म आग्रह गर्न चाहन्छु– पूर्वाग्रह र प्रतिशोधको राजनीति बन्द गरियोस्। उहाँहरूको अविलम्ब रिहा होस्,’ उनले भने।
यस प्रकारको पूर्वाग्रह र प्रतिशोधको राजनीतिक बन्द गरिनुपर्ने उनको भनाइ छ। ‘पूर्वाग्रह र प्रतिशोधको राजनीति लोकतन्त्रको शत्रु हो। लोकतन्त्रलाई बलियो र सुदृढ बनाउने हो भने पूर्वाग्रह र प्रतिशोधको कुनै पनि स्थान हुनु हुँदैन। कानुनी शासन स्थापना गर्नका लागि पनि नागरिकलाई समान व्यवहार गर्नुपर्छ। पूर्वसरकार प्रमुखमाथि पूर्वाग्रह साध्ने हो भने ‘डोको’ सुरक्षित राख्नुहोला। तपार्ईंहरू पनि पूर्व हुनुहुन्छ,’ उनले भने।
नेपाली राजनीतिमा ‘डोको’को सन्दर्भले भोलि आफूलाई पनि त्यसै गरी बोकेर लैजाने वा कारबाही हुने संकेत गर्दछ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने वा खारेज गर्ने आशय देखिएको भन्दै उनले आलोचना गरे।
विद्यार्थी आन्दोलनलाई लोकतन्त्रको आत्माको संज्ञा दिँदै उनले भने, ‘अरिङ्गालको गोलोमा हात हाल्ने काम सरकारले नगरोस्।’
सांसद महरले विद्यार्थी संगठनहरू नेपालमा मात्र नभई विश्वका शक्तिशाली लोकतान्त्रिक र कम्युनिष्ट मुलुकहरूमा पनि सक्रिय रहेको उदाहरण दिए।






प्रतिक्रिया