अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई रामकुमारी झाँक्रीको प्रश्न- भदौ २४ को घटनाको छानबिन कहिले हुन्छ ?

सरकारलाई रामकुमारी झाँक्रीको प्रश्न- भदौ २४ को घटनाको छानबिन कहिले हुन्छ ?


काठमाडौं-नेकपा एमाले राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्रीले भदौ २४ गतेको घटनाको छानबिन नभएको दाबीसहित सरकारलाई प्रश्न गरेकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले २४ गते जलाइएका सिंहदरबारलगायत घटनाको सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाइ भइरहेको बताएकी हुन्।  

पूर्वमन्त्री समेत रहेकी उनले सो घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ ? भनी सरकारलाई प्रश्न समेत गरिन्।

‘भदौ २४ को घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ ? भदौ २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो ? अथवा त्यो हिंसात्मक वा के विद्रोह थियो ? त्यसको जिम्मा कसले लिने हो ?,’ उनले भनिन्, ‘२३ गतेको घटनाबारे केही प्रतिवेदन आए। २४ गते खण्डहर भएका सिंहदरबारजस्ता संरचना जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य र त्यसरी मनिटरिङ गरेर मान्छेलाई कसले पठाएको हो ? यसको उत्तर कसले खोज्ने हो ? आज सिंहदरबार जलाउन हुन्छ, यसो गर्दा केही हुन्न भन्ने भाष्य कसले खडा गरिदिएको हो। र, नवयुवाहरूलाई यस ढङ्गले कसले प्रयोग गर्‍यो ? यसको जवाफ आज होइन, भोलि वा कुनै दिन यही सम्मानित राष्ट्रिय सभाले खोज्नेछ।’

नवयुवालाई गलत ढंगले परिचालन गर्ने र सिंहदरबारलगायत ठाउँलाई खण्डहर बनाएकामा आफू भावविह्वल भएको बताइन् । उनले त्यस घटनाको तथ्य सार्वजनिक हुनुपर्ने माग राखिन्। सरकारले कार्पेटमुनि धुलो राखेर सब ठीकठाक छ भनेर हिँड्ने काम गर्न नहुने पनि बताइन्।

 उनले भनिन्– ‘कार्पेट मुनि धुलो राखेर सब ठिकठाक छ भनेर जाने कुरा मान्य छैन। भदौ २३ को घटना शान्तिपूर्ण थियो भन्ने आधारमा सिंहदरबार जे खण्डहर बन्यो। यो इतिहासमा के भएको थियो। त्यसको निष्पक्ष छानबिन कहिले हुन्छ ?’ 

सांसद झाँक्रीले राज्यको विरुद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढ्न नसकिने पनि बताइन् ।