काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बालेन साह नेतृत्वको सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति प्रश्न गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले दिगो पूर्वाधार विकासका लागि लिइने विदेशी ऋण नेपालका लागि बाध्यता मात्र नभई आवश्यकता पनि भएको उल्लेख गरे । तर, अघिल्लो सरकारको समयमा विदेशी ऋणकै विषयलाई लिएर कडा आलोचना गर्नेहरू अहिले आफैले ठूलो मात्रामा ऋण लिन थालेको उनको टिप्पणी छ ।
‘हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ। हिजो विरोध किन ? आज स्वीकार किन ?’ महासचिव पोखरेलको प्रश्न छ।
महासचिव पोखरेलले सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक रहेको उल्लेख गरेका छन्।
गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)बाट करिब २८ अर्ब ७५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको थियो।

यसै सन्दर्भमा हिजो अर्थात् चैत २३ गते प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति आपत्ति जनाएकी थिइन्। बैठकमा बोल्दै उनले सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट कुन संसदीय समिति, नीतिगत बहस र कुन आवश्यकता प्राथमिकिकरण मूल्यांकनका आधामा यो निर्णय गरेको हो भन्दै प्रश्न गरेकी थिइन् ।
‘मन्त्रिपरिषद् बैठकले एशियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनाका लागि ९५ मिलियन अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको प्रसंग छ,’ उनले सोधिकी थिइन्, ‘कुन संसदिय समिति, कुन नीतिगत बहस, र कुन आवश्यकता प्रथामिकीकरण मूल्याङ्कनका आधारमा यो आकारको निर्णय लिईयो ? हाम्रो संसद अझै शिशु अवस्थामा छ: संसदीय समिति, उपसमितिहरु बनेका छैनन्। यस्तो अवस्थामा एउटा सानो आकारमा बसेर भएको सरकारको निर्णय पारदर्शी नभएको कुरा स्पष्ट छ ।’
उनले ऋण मागिएको होकि अनुरोधपछि लिने निर्णय गरिएको हो भन्नेबारे पनि प्रश्न गरेकी थिइन् । ‘सबैभन्दा महत्वपूर्ण प्रश्न: उक्त ऋण हामीले माग गरेका थियौं वा हामी माथि प्रस्ताव आएको थियो ? अफर हो कि अनुरोध ऋण हो ? किन उक्त परियोजनाहरु नै छनोट गरियो ?,’ उनले सोधिन् ।






प्रतिक्रिया