अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथ खनालको प्रस्ताव- अब देशमा एउटै कम्युनिस्ट पार्टी बनाउन कोसिस गरौँ

झलनाथ खनालको प्रस्ताव- अब देशमा एउटै कम्युनिस्ट पार्टी बनाउन कोसिस गरौँ


काठमाडौं-पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिस्टहरू बीच एकताको प्रयत्न गर्नुपर्ने प्रस्ताव राखेका छन्। हिजो सोमबारदेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी कार्य संयोजन समिति बैठकमा लिखित प्रस्ताव राखेका हुन्।

नेता खनालको प्रस्तावमा भनिएको छ, ‘अन्य सबै कम्युनिस्ट समूहहरूलाई मित्र संगठनका रूपमा मान्यता दिने, उहाँहरूसँग रहेका मतभिन्नताहरूका बारेमा मैत्रीपूर्ण वैचारिक-सैद्धान्तिक बहस गर्ने, मिलनका बिन्दुहरूलाई बढाउँदै लाने, भिन्नताका बिन्दुहरू घटाउँदै लाने र अन्ततः एकताबद्ध हुने दृष्टिकोण लिएर अघि बढ्नुपर्छ।’

सबै कम्युनिस्टहरू र वामपन्थीहरूलाई एकताबद्ध पार्न पहल गर्नुपर्ने उनको भनाइ छ। ‘देशमा एउटै कम्युनिस्ट पार्टी बनाउन कोसिस गर्नुपर्नेछ। नेपाली समाजवादी क्रान्ति एउटा एकीकृत क्रान्ति हो, यो एउटै क्रान्तिकारी कार्यदिशाबाट मात्र सम्पन्न हुन्छ, यसमा दर्जनौँ कार्यदिशाले क्रान्तिलाई अघि बढाउँदैन,’ नेता खनालको प्रस्तावमा भनिएको छ, ‘त्यसैले एउटा देशमा एउटै कम्युनिस्ट पार्टी हुन्छ, त्यसले अघि सार्ने एउटै क्रान्तिकारी कार्यदिशाले नै नेपाली क्रान्तिले विजय प्राप्त गर्छ। त्यसैले कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने काम कार्यनीतिक मात्र नभएर रणनीतिक महत्वको काम हो भन्ने बुझेर काम गर्नुपर्छ।’

नेता खनालले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले उत्कृष्ट नजिता ल्याउन नसकेको विषयमा विश्लेषण गरेका छन्। उनले पार्टी र नेताहरूको कार्यशैलीमा व्यापक सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

उनले एकता घोषणापछि तीन महिनाको समय सदुपयोग नभएको, कमिटी प्रणाली नभएको, जनसङ्गठनलाई पनि एकताबद्ध गरेर परिचालन नगरेको, चुनावी अभियान कसका विरुद्ध त्यो पनि प्रस्ट नपारिएको, चुनावी अभियान सञ्चालन गर्ने प्रभावकारी संयन्त्र नै नभएको लगायतको कारण खुलाएका छन्।

नेकपा घोषणा गरियो तर त्यसलाई सांगठनिक रूप दिन नसकिएको, एकता घटकसँग गरिएका प्रतिबद्धता लागु नभएको, एकताका लागि अगाडि सारिएका चार आधारभूत सिद्धान्त मार्क्सवाद लेनिनवाद मार्गदर्शक सिद्धान्त, आजको समाजवादी क्रान्ति र रूपान्तरणको युग, वैज्ञानिक समाजवाद नेपाली विशेषताको समाजवादी कार्यक्रम, त्यसलाई प्राप्त गर्ने क्रान्तिकारी कार्यदिशा सही भएको तर तिनीहरूलाई लागु गर्ने कार्यदिशा तय नभएको, २०–२५ समूहलाई एकतामा ल्याइएको तर सही कार्यदिशाको आधारमा सङ्गठित गर्ने प्रयास नभएको उनले जिकिर गरेका छन् । 

नेता खनालले बुँदागत रूपमा कमजोरी औँल्याएका छन् । नेतृत्वदायी कोर टिम नबनेको, एकीकृत अभियान समयमै सुरु नभएको, सन्देशसभाको सट्टा एकीकरण हुनुपर्थ्यो, एकतापछि तीन महिनाको समय सदुपयोग नभएको, अपानी र अपिल जारी गर्ने सहमति, समिति प्रणाली नभएको, जनसंगठनलाई एकताबद्ध गरी परिचालन नगरिएको, चुनावी अभियान कसका विरुद्ध भएको त्यसबारे प्रस्ट नभएको, युवाहरूलाई परिचालन नगरिएको, चुनावी अभियान सञ्चालन गर्न प्रभावकारी संयन्त्र नबनेको कुरा खनालले उठाएका छन् ।