काठमाडौं-राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल बैंकर्स एसोसिएसनको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना-२०८२ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका उप-प्रमुख तथ्याङ्क अधिकारी डा. शरद कुमार शर्माको अध्यक्षता २०८२ चैत २४ गते मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
अन्तरक्रिया कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीसहित लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, स्टान्डर्ड चाटर्ड बैंक, नेपाल बैंक लिमिटेड, सिद्धार्थ बैंक लगायत विभिन्न बैंकका २५ जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उप-प्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए। यसैगरी, राष्ट्रिय आर्थिक गणना, २०८२ को बारेमा संक्षिप्त प्रस्तुति निर्देशक डा. बेद प्रसाद ढकाल गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका उप-प्रमुख तथ्याङ्क अधिकारी डा. शरद कुमार शर्माले ‘सही तथ्याङ्क नै सही योजनाको आधार हो देशको आर्थिक अवस्थाको वास्तविक चित्र उतार्न यो गणना कोशेढुंगा सावित हुनेछ।’ उनले प्रदेश र स्थानीय तहका सरकारहरूलाई पनि यो अभियानमा सक्रिय हुन आग्रह गरे।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बेद प्रसाद ढकालले नेपालको जीडीपीमा अनौपचारिक क्षेत्रको हिस्सा अझै पनि ४१ प्रतिशत हाराहारीमा रहेको बता। उनले भने, ‘हामीले जति धेरै अनौपचारिक क्षेत्रलाई गणनामा समेट्न सक्छौँ, त्यति नै देशको अर्थतन्त्र बलियो हुन्छ।’
लक्ष्मी सनराइज बैंकका प्रमुख वित्त अधिकृत (सिइओ) दिपेश चालिसेले यो गणना बैंकिङ क्षेत्रका लागि पनि महत्वपूर्ण रहेको र आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।
उप-प्रमुख तथ्याङ्क अधिकार ढुण्डीराज लामिछानेले बैंकहरूलाई इ-सेन्सस मार्फत विवरण उपलब्ध गराउन आग्रह गर्दै तथ्याङ्कको गोपनीयता कायम रहनेमा आश्वस्त पारे। उनले निजी क्षेत्रको सहभागिता विना यो अभियान सफल हुन सक्दैन, त्यसैले हामी बैंकिङ क्षेत्र जस्ता संगठित संस्थाहरूसँग सहकार्य गर्न चाहेको समेत बताए। बैंकहरुको तर्फबाट समेत आवश्यक सूचना तथा सन्देश जारी गरेर यो गणनालाई सहयोग गर्न आग्रह गरेका थिए।
कार्यक्रमको अन्त्यमा आर्थिक गणनालाई सफल पार्न सबै सरोकारवालालाई सहयोग र समन्वयका लागि अनुरोध गरिएको थियो। छलफलका क्रममा नेपाल बैंकर्स एसोसिएसन र विभिन्न बैंकका प्रतिनिधिहरूले मर्जरमा गएका बैंकहरूको तथ्याङ्क व्यवस्थापन र कर्मचारी विवरण, इ-सेन्सस लगायतका विषयमा चासो राखेका थिए।






प्रतिक्रिया