काठमाडौं-पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो र परिवारको सम्पत्ति सम्बन्धी अनुसन्धानबारे सार्वजनिक भएको विषयलाई स्पष्टीकरण दिएका छन्।
बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री देउवाले सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
पूर्वप्रधानमन्त्री देउवाले आफू र आफ्नो परिवारका विषयमा सम्पत्ति सम्बन्धी भ्रामक र झुटा प्रचारबाजी गरिएको बताएका छन्।
‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ‘, पूर्वप्रधानमन्त्री देउवाले विज्ञप्तिमा भनिएकाे छ।
नेपालको कानुन अनुसार सार्वजनिक पदमा रहँदा आफ्नाे सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
पूर्वप्रधानमन्त्री देउवाले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताको पक्षमा आफूले जीवनभर संघर्ष गरेको भन्दै आफ्नो जीवन “खुला पुस्तक” जस्तै रहेको उल्लेख गरेका छन्।
पूर्वप्रधानमन्त्री देउवाले आफू खुला पुस्तकका रूपमा रहेकाे भन्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न आफू गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन लागू भएको स्मरण गराएका छन् ।
‘मेरो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको छ । भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ,’ उनले भनेका छन् ।
देउवा परिवार स्वास्थ्य उपचारका लागि हाल विदेशमा छन् । देउवाले वास्तविकता समयक्रमसँगै खुल्दै जाने भन्दै अतिरञ्जित गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गरेका छन् ।
यस्ताे देउवाले जारी गरेकाे विज्ञप्ति
आदरणीय दाजुभाई, दिदीबहिनी तथा साथीहरू,
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।
मेरो जीवन एउटा खुल्ला पुस्तकका रूपमा रहेको छ । भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।
स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । वास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरञ्जन गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।
जय नेपाल।
शेरबहादुर देउवा






प्रतिक्रिया