काठमाडौं-पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। अध्यक्ष ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ।
भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि अध्यक्ष ओलीलाई प्रहरीले २०८२ चैत १४ मा पक्राउ गरेको थियो। त्यसलगत्तै ओलीकी पत्नी राधिका गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०८२ चैत २३ मा चौथो पटक म्याद नथप्न र अनुसन्धान पुरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो। सर्वोच्चले एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध मुद्दा दायर गर्न वा २६ गतेसम्ममा छोड्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्ववय विनोद शर्मा र सुनिल कुमार पोखरेलले उनीहरूलाई चैत २५ भन्दा पछि हिरासत मुक्त गर्न आदेश गरेका थिए ।






प्रतिक्रिया