अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हप्तामा दुई दिन बिदा दिने संघीय सरकारकाे निर्णय आठराई गाउँपालिकाद्वारा अस्वीकार

हप्तामा दुई दिन बिदा दिने संघीय सरकारकाे निर्णय आठराई गाउँपालिकाद्वारा अस्वीकार


काठमाडौं-ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा दुई दिन सार्वजनिक बिदा दिने संघीय सरकारको निर्णयलाई नमान्ने भएको छ।

चैत २५ गते बुधबार बसेको गाउँपालिकाको ६०औं कार्यपालिका बैठकले संघीय सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) कार्यालय तथा विद्यालयमा बिदा दिने निर्णय लागू नगर्ने भएको हो। 

संघीय सरकारको निर्णय व्यावहारिक नदेखिएपछि चैत २५ गते बुधबार कार्यपालिका बैठकबाट बिहान १० बजे मात्रै कार्यालय खोल्ने र आइतबार पनि बिदा नगर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमुले बताए।

अध्यक्ष पोमुले भने, ‘संघीय सरकारले गरेको यो निर्णय व्यवहारिक भएन । हाम्रोमा निगुरादिन, चाँगेदेखिको सेवाग्राही खाना खाएर आउँदा बल्ल ११/१२ बजेतिर आइपुग्छन्, कर्मचारीले पनि दुई घण्टा हिँडेर आउनुपर्छ ।’

सरकारी कार्यालयहरूमा धेरै बिदा हुँदा सेवाग्राही मर्कामा परेको र प्रशासनिक काम सुस्त भएको जनगुनासो आएपछि यस्तो निर्णय लिइएको अध्यक्ष पोमुले बताए । ‘धेरै बिदाका कारण सेवाग्राहीले सास्ती भोग्नुपर्ने अवस्था देखियो,’ अध्यक्ष पोमूले भने, ‘त्यसैलाई न्यूनीकरण गर्न र सेवा प्रवाहलाई चुस्त बनाउन सातामा ६ दिन कार्यालय खोल्ने निर्णय गरेका हौँ।’

गाउँपालिकाले कार्यालय समय भने यथावत राखेको छ। जसअनुसार कर्मचारीहरू बिहान १० देखि साँझ ५ बजेसम्म कार्यसम्पादनमा खटिनुपर्नेछ। बिदाको दिनमा समेत अत्यावश्यक कार्य सम्पादन गर्नुपर्ने अवस्था आएमा कर्मचारीलाई प्रोत्साहन भत्ता (इन्सेन्टिभ) उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यसले सेवाग्राहीलाई कुनै पनि बेला सहज रूपमा सेवा लिन मद्दत पुग्ने गाउँपालिकाको विश्वास छ।

यही चैत २२ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रालियम आपूर्तिमा उत्पन्न असहजताको कारण देखाउँदै बालेन शाह नेतृत्वको संघीय सरकारले सातामा २ दिन (शनिबार र आइतबार) विदा दिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय लगत्तै राजपत्रमा सूचना प्रकाशित गरी २०८२ चैत २३ गते सोमबारदेखि नै देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरूमा लागू गर्न भनिएको थियो।  यसअघि शनिबार मात्र सार्वजनिक बिदा थियो।

हप्तामा दुई दिन बिदा दिँदा सेवा प्रवाह र कार्यसम्पादनमा असर पर्न नदिन भन्दै यसअघि बिहान १० बजे खुल्ने गरेका सरकारी कार्यालयहरू १ घण्टा अगाडि अर्थात् बिहान ९ बजे नै खुल्न निर्देशन दिएको थियो।

नयाँ व्यवस्था अनुसार शनिबार र आइतबारको बिदा सरकारी कार्यालय र शैक्षिक संस्था दुवैमा लागू हुनेछ। तर, शैक्षिक संस्थाहरूको हकमा भने बिहान ९ देखि ५ को कार्यालय समय अनिवार्य नगरिएको राजपत्रमा उल्लेख छ।