अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रिहाइ भएपछि रमेश लेखकले भने– कानुनी र राजनीतिक लडाईं जारी छ

रिहाइ भएपछि रमेश लेखकले भने– कानुनी र राजनीतिक लडाईं जारी छ


काठमाडौँ-नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कानुनी र राजनीतिक लडाईं जारी रहेको बताएका छन्। हाजिरी जमानीमा बिहीबार हिरासतमुक्त भएका कांग्रेस नेता लेखकले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू रिहा भएको जानकारी गराउँदै बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका हुन्। 

पूर्वगृहमन्त्री लेखकले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण रहेको उल्लेख गरेका छन्। 

पूर्वगृहमन्त्री लेखकले सामाजिक सञ्जालमामा लेखेका छन्, ‘गत भाद्र २३ र २४गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा  फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु।’

उनले आफू रिहा भएको जानकारी गराउँदै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। लेखकले लेखेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभचिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु।’

उनले आफू कानुन पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएकाले राजनीतिक र कानुनी लडाईं जारी राख्ने उल्लेख गरेका छन् । ‘परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म कानुन पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ’ लेखकले लेखेका छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दबाएको भन्दै लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनी सर्वोच्चको परमादेशपछि बिहीबार रिहा भएका थिए ।