अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा असहयोग गरेको भन्दै वडाध्यक्ष घिमिरे एमालेबाट निष्कासित

चुनावमा असहयोग गरेको भन्दै वडाध्यक्ष घिमिरे एमालेबाट निष्कासित


रूपन्देही-नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिका-४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल)लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ।

चैत २४ गते घोराहीमा बसेको जिल्ला कमिटी बैठकले पार्टीका महासचिव तथा दाङ क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलविरुद्ध गतिविधि सञ्चालन गरेको निष्कर्ष निकाल्दै घिमिरेलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको हो।

घोराही–४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए।

२०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा एमाले महासचिव पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचासँग पराजित भएका थिए।

घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। तर, पछिल्लो समय उनले रास्वपाको पक्षमा गतिविधि गर्दै आएकाे आराेप छ।

सामाजिक सञ्जालमार्फत उनले एमाले परित्याग गरेको घोषणा पनि गरेका थिए।

चुनावमा घोराहीमा मेयर–उपमेयरसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको थियो। वडाध्यक्ष घिमिरे अभिनेता तथा चलचित्र निर्माता हुन्।

यसअघि पार्टी अनुसाशन विपरित कार्य गरेको भन्दै एमालेले घोराही– ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पनि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो।