अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव पोखरलेले रास्वपालाई लक्षित गर्दै भने – जुन शक्ति जति तीव्रताका साथ उदाउँछ, पतन पनि उति नै छिटो हुन्छ

महासचिव पोखरलेले रास्वपालाई लक्षित गर्दै भने – जुन शक्ति जति तीव्रताका साथ उदाउँछ, पतन पनि उति नै छिटो हुन्छ


काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको टिप्पणी गरेका छन्।

शनिबार एमाले सम्पर्क विशेष सङ्गठन कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नयाँ शक्तिबारे टिप्पणी गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै पोखरेलले विचार र सिद्धान्तविनाको एकता लामो समय नटिक्ने जिकिर गरे। रास्वपाभित्र सभापति रवि लामिछाने र संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै पोखरेलले विचार नमिल्नेहरूबीच स्वार्थको टकराव आउनासाथ विग्रह हुने बताए।

‘रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, तर चुनावमा स्वार्थका लागि मिले। जहाँ विचार मिल्दैन, त्यहाँ स्वार्थको टकराव सुरु हुनासाथ विग्रह आउँछ,’ पोखरेलले भने, ‘जुन शक्ति जति तिब्रताका साथ उदाउँछ, त्यसको पतन पनि उति नै छिटो हुन्छ। पपुलिज्मले जनताका समस्या समाधान गर्दैन, केवल भ्रम छर्छ।’

नयाँ भनिएकाहरूले लोकतन्त्रका ‘स्पेस’हरू खुम्च्याउन खोजेको, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रहार गरेको भन्दै आलोचना गरे। उनले एमाले अधिनायकवाद र स्वेच्छाचारी शासनविरुद्ध चट्टान बनेर उभिने बताए। संसद्मा एमालेको संख्या कम भए पनि भुमिका ‘निर्णायक र आक्रामक’ हुने बताए।

प्रधानमन्त्रीले संसद्मा बोलेर जनतासँग संवाद नगरेकोमा पनि पोखरेलले आपत्ति जनाए। ‘प्रधानमन्त्री सुरक्षा निकायका कार्यक्रममा घण्टौँ बोल्नसक्ने तर जनताको सार्वभौम थलो संसद्मा बोल्न डराउने कुरा कस्तो लोकतन्त्र हो ?,’ उनले प्रश्न गरे।

एमाले महासचिव पोखरेलले संसदीय मोर्चालाई पार्टीको पुनर्जागरण अभियानसँग जोडेर सरकारका अलोकतान्त्रिक र गैरकानुनी कदमको भण्डाफोर गर्न सांसदलाई आह्वान गरे।