अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकैदिन आठ जिल्लामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु

एकैदिन आठ जिल्लामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु


काठमाडौँ-छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। काठमाडौँ, सङ्खुवासभा, दोलखा, तनहुँ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको हो।  

काठमाडौँको दक्षिणकाली नगरपालिका–८ चुत्राघारी पानी घाटस्थित सडकमा वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, कैलालीको कैलारी गाउँपालिका–१ हसुलियास्थित सडकमा सु.प.प्र.०१–००१ च ३७५३ नम्बरको बलेरोले बा.२६ प.३०२७ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१९ फुलबारी गाउँ घर भएका २२ वर्षीय राम मिलन चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बलेरो चालकलाई नियन्त्रणमा लिएको छ ।

उता,सङ्खुवासभामा खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ११ वर्षीय मनिष कुमालको मृत्यु भएको छ । तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को.२ त. ५३५४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

त्यस्तै, पर्साको वीरगंज महानगरपालिका–२२ स्थित सडकमा सिर्सियाबाट परवानीपुरतर्फ आउँदै गरेको ना.६५प.३३३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ बस्ने ५३ वर्षीय वसन्त कुँवर देउला रहेका छन् ।

शनिबार दिउँसो भएको सो दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल गण्डक वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यता तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित सडकमा बा.११च.७३६५ नम्बरको पिकअपले ग.१९प.२९८८ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने पाँचथर घर भएका ३० वर्षीय गणेश खतिवडा र स्कुटरमा सवार ५५ वर्षीय कृष्णबहादुर भुजेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये गणेशको तनहुँ सेवा अस्पताल दुलेगौडा र कृष्णको जिएमसि अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै, कपिलवस्तुको शिवराज नगरपालिका–६ पिपरीस्थित सडकमा लु.१५प. ३१९९ नम्बरको मोटरसाइकल लु.१ क.५६०३ नम्बरको जेसिबिसँग ठक्कर खाएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–४ बरगदवा बस्ने ६० वर्षीय अरूल्ला मुसलमानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै,दोलखाको कालिन्चोक गाउँपालिका–३ एक्ले सल्लोस्थित सडकमा सिंगटीबाट बन्चरेतर्फ जाँदै गरेको बा.प्र.०१–००४ प.५४४० नम्बरको जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–१२ गेलु बस्ने ३० वर्षीय विक्रम भन्ने सुगम पौडेल खत्रीको घटनास्थलमै मृत्यु भएको छ । 

उता, प्युठानको माण्डवी गाउँपालिका–५ रम्दिस्थित सडकमा ना.८ख.२४२६ नम्बरको टिपरले लु.५१प.२०९४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ तिख्रे बस्ने ४८ वर्षीय यामबहादुर घर्ती रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।