काठमाडौं-सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण चैत २९ गते आइतबार सार्वजनिक गरेकाे थियाे।
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सार्वजनिक गरेको सम्पत्ति विवरणलाई लिएर तिखो व्यङ्ग्य गरेका छन्।
मन्त्रिपरिषद्का सदस्यहरूले सार्वजनिक गरेको विवरणमा उल्लेख्य मात्रामा सुन र सम्पत्ति देखिएपछि नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।
नेता बाँस्कोटाले मन्त्रीहरूको सम्पत्तिलाई ‘खेतबारीमा फुलेको तोरी’सँग तुलना गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो। देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। समृद्धि आएछ—सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ। म झनै खुसी किनकि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ—झिक्कै झिक्कै मया तम्लाई!’
सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन र नगद मौज्दात रहेको देखिएको छ। प्रधानमन्त्री बालेनसँग १९० तोला सुन रहेको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्चा हुन थालेकाे छ।
नेता बाँस्कोटाले मन्त्रीहरू आर्थिक रूपमा सबल हुनुलाई व्यङ्ग्यात्मक रूपमा ‘कङ्गालबाट मुक्ति’ पाएको भन्दै सुशासनको उपहास गरेका छन्। उनी आफ्नो वाकचातुर्य र तिखो राजनीतिक टिप्पणीका लागि परिचित छन्।








प्रतिक्रिया