काठमाडौं-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहरदबार र परिसर क्षेत्रमा इन्टरनेट सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन पहल थालेको छ । यसका लागि मन्त्रालयले सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधारसम्बन्धी निकायका रूपमा रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्रलाई निर्देशनसमेत दिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले डाटा व्यवस्थापन केन्द्रका प्रमुख प्रमुख मनिष भट्टराईसँगको छलफलमा सिंहदरबार र आसपासका सरकारी निकायमा सूचना प्रविधि पूर्वाधारलाई थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
आज मन्त्रालयमा भएको छलफलका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सिंहदरबारभित्रका सम्पूर्ण निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले इन्टरनेट सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नहुने स्पष्ट पार्दै सेवाप्रदायक र सम्बन्धित निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिए । सेवामा अवरोध आउनसक्ने सम्भावित कारणहरूको पहिचान गरी त्यसलाई समयमै समाधान गर्नुपर्नेमा उनको विशेष जोड थियो ।
मन्त्री डा. तिमिल्सिनाले सम्बन्धित सबै निकायलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न आग्रह गर्दै सहकार्य, समन्वय र नियमित अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । डिजिटल सेवाहरूको गुणस्तर सुधार नगरी प्रभावकारी प्रशासन सम्भव नहुने उल्लेख गर्दै उनले प्रविधिमा आधारित सेवा प्रवाहलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिए ।
त्यस्तै, प्राविधिक तथा मानवीय त्रुटिका कारण पनि समस्या उत्पन्न हुनसक्ने भएकाले दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिन मन्त्री तिमिल्सिनाले निर्देशन दिए । उनले नेपाल टेलिकमबाट दक्ष प्राविधिकसहितको टोली परिचालन गरी सम्भावित समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।
सो क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका कार्यालय प्रमुख भट्टराईले सिंहदरबारभित्र इन्टरनेट सेवासम्बन्धी विद्यमान अवस्थाबारे जानकारी गराएका थिए । उनका अनुसार हाल केही कार्यालयमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीँ सम्पर्क टुट्ने समस्या देखिएको छ । यस्ता समस्या दोहोरिन नदिन आवश्यक प्राविधिक सुधार र व्यवस्थापनका उपायहरू अवलम्बन गरिएको जानकारी पनि उनले दिए ।








प्रतिक्रिया