काठमाडौं-प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणलाई लिएर पूर्वमन्त्री सुदन किरातीले व्यङ्ग्य गरेका छन्। सोमबार सामाजिक सञ्जालमा ‘गरिबको भोटमाथि धनीको शासन’ शीर्षक दिँदै उनले मन्त्रीहरूसँग रहेको अस्वाभाविक सम्पत्तिको स्रोतमाथि प्रश्न उठाएका हुन्।
‘स्वदेशमा त सम्पत्ति कमाउने अवसर छैन भन्छन्, त्यसैले होला लाखौं युवाहरु सम्पत्ति कमाउन विदेश गइरहेका छन्,’ किरातीले लेखेका छन्, ‘तर, केही युवाले त नेपालमै अत्याधिक सम्पति कमाएका रहेछन् भन्ने मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणबाट स्पष्ट हुन्छ।’
पूर्वमन्त्री किराती कुनै एक भुक्तभोगीले भनेको भन्दै अगाडि लेखेका छन्, ‘अत्याधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ, कि आफैले गडबडी गरेको हुनुपर्छ।’
पूर्वमन्त्री किरातीले सम्पत्ति विवरण बुझाउँदा नियमअनुसारकै स्रोत हुनुपर्ने बताएका छन्। ‘मेरो जानकारीमा, सम्पत्ति विवरण बुझाउँदा नियम अनुसार स्रोत खुलेकै हुनुपर्छ। तर राज्यलाई कर चाहिँ तिरिएको छ कि छैन ? कानुन अनुसार कारबाही होस् बालेन्द्र सरकार,’ उनले लेखेका छन्।









प्रतिक्रिया