अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री र नेपाल पक्षबीचको छलफल सकारात्मक : प्रवक्ता ज्ञवाली

प्रधानमन्त्री र नेपाल पक्षबीचको छलफल सकारात्मक : प्रवक्ता ज्ञवाली


काठमाडौं- नेकपा एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीचको छलफल सकारात्मक रहेको बताउनुभएको छ ।

उहाँले पार्टी मुख्यालय धुम्बाराहीमा भएको दुवै पक्षबीचको छलफल निष्कर्शमा नपुगे पनि सकारात्मक रहेको बताउनुभएको हो ।

‘उहाँहरूले २८ गते बसेको बैठकमा हामी उपस्थित भएनौँ । त्यसैले सो बैठकका निर्णयलाई कसरी स्वामित्वग्रहण गर्ने ? त्यो बैठकका निर्णयहरूलाई स्थगन गर्न सकिन्छ कि भन्ने उहाँहरूले आग्रह गर्नुभएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रवक्ता ज्ञवालीलले भन्नुभयो, ‘यदि ती निर्णयहरू पुनरावलोकन गर्नुपर्नेछ, समीक्षा गर्नुपर्नेछ, केही कुरामा सुधार गर्नुपर्नेछ भने त्यसमा छलफल गर्दै जान सकिन्छ ।’

साथै, छलफलमा अनावश्यक भेलाहरू नगर्ने विषयमा छलफल भएको प्रवक्ता ज्ञवालीलले बताउनुभयो ।

‘उहाँहरूले चार र पाँच गते भेला गर्ने भन्नुभएको छ । त्यस्तो भेलाहरूलाई पार्टी एकतालाई बल पुर्‍याउँदैन, त्यस्ता भेलाहरूले दूरी बढाउने काम मात्र गर्छ । बरु अब केन्द्रीय कमिटीको बैठक चाहिँ आवश्यक परामर्शबाट तय गरौँ भनेर कुराकानी गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘सारमा आज निष्कर्शमा नपुगे पनि छलफल सकारात्मक रहेको छ ।’

प्रवक्ता ज्ञवालीलले दुवै पक्षबीच पार्टी एकताका विषयमा अनौपचारिक वार्ता जारी रहनेसमेत बताउनुभयो । ‘अनौपचारिक छलफलमा निरन्तर गरिरहन्छौँ । यसका लागि ठ्याक्कै मिति तोकिएको छैन । विभिन्न तहमा कुराकानी जारी हुन्छ,’ उहाँले भन्नुभयो ।