अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बल्खुबाट प्रधानमन्त्रीको घोषणा- व्यक्तिसँग कुरा हुन्छ, गुटसँग सम्झौता हुँदैन

बल्खुबाट प्रधानमन्त्रीको घोषणा- व्यक्तिसँग कुरा हुन्छ, गुटसँग सम्झौता हुँदैन


काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ ।

पुरानो पार्टी कार्यालय बल्खुमा नयाँ भवन शिलान्यास कार्यक्रमलाई बिहीबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेताहरुसँग व्यक्तिगत तवरले कुरा गर्ने र जिम्मेवारीहरु दिइने बताउनुभयो । ‘व्यक्तिगत तवरमा कुरा हुन सक्छ, व्यक्तिगत जिम्मेवारी दिन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘मेरो गुट भनेर भागबण्डा गर्ने अब चल्दैन । पार्टी खोक्रो बनाउने कुरा सैह्य हुँदैन ।’

वरिष्ठ नेता माधवकुमार नेपालसँग चार महिनापछि संवाद सुरु गर्नुभएका प्रधानमन्त्री ओलीले अझै सम्झाउने बुझाउने काम गरिरहेको बताउनुभयो । ‘देशभर नयाँ पार्टी बनाउने अभियान चलाउनेलाई पनि सकभर सम्झाउने बुझाउने प्रयास भएको छ । पार्टीलाई थप क्षति नहोस् भन्नेतिर ध्यान दिएका छौं,’ उहाँको भनाइ थियो, ‘पार्टीमा जे पनि गर्न पाइने, अराजकता निम्त्याउने, अनुशासनहीनसँग सम्झौता गर्न सक्दैनौं । पार्टी विरोधी र गुटका गतिविधिलाई मान्यता दिँदैनौं ।’

पार्टीले लिएका निर्णयहरुलाई कमजोरी नठान्न आग्रह गर्दै उहाँले एकता बिथोल्ने मनसायले गुटको प्रतिनिधित्व नगर्न अपिल गर्नुभयो ।

प्रधानमन्त्री ओलीले फ्लोर क्रस गरेर गर्व गर्ने प्रवृत्ति इतिहासमा कहिल्यै नभएको बताउँदै एमालेमाथि र व्यक्तिगतरुमा आफूविरुद्ध निर्मम प्रहार भएको उल्लेख गर्नुभयो ।

कम्युनिष्ट आन्दोलन सिध्याउन आफूलाई प्रहार गरेर सुरु गरिएको प्रधानमन्त्रीको भनाइ थियो । ‘दलको नेता, अध्यक्षबाट हटाउने एउटा कुरा थियो, साधारण सदस्यबाट निकालियो । केपी ओलीलाई सिध्याइयो, पत्तासाफ गरियो, भित्तामा टँसाए, धूलोमा मिलाएँ भन्ने सुनियो,’ उहाँको भनाइ छ, ‘टाउकोमा हान्ने नीति थियो, नेतृत्वदेखि प्रहार गर्ने काम भयो ।’

सरकारले गरेका राम्रा कामहरुको चर्चा सुरु भएपनि आफूविरुद्ध प्रहार भएको प्रधानमन्त्रीले बताउनुभयो । ‘कसैको सफलता देख्न नसक्ने, सफलताको चर्चा, प्रशंसा सुन्न नसक्ने, म र मेरो भन्ने संकीर्ण व्यक्तिहरुले हाम्रा उपलब्धीहरु हमला गरे,’ उहाँले भन्नुभयो, ‘शासनमा यदि भएको भए के गर्थे होलान्, नहुँदा नै यस्तो थियो ।’