काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच भेटघाट भएको छ ।सोमबार भएको भेटघाटमा प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सेनाबाट सर्वोच्च अदालतले प्राप्त गरेको जग्गा खाली गरिदिन आग्रह गर्नुभएको छ ।
सर्वोच्च अदालतमा बोलाएर उहाँले थापालाई सर्वोच्चले प्राप्त गरिसकेको जग्गा चाँडो खाली गरिदिन आग्रह गर्नुभएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सेनाबाट प्रक्रियागत रूपमा सर्वोच्चले प्राप्त गरेको जग्गामा अहिले सर्वोच्चका लागि नयाँ भवन बनाउने काम भइरहेको छ । काम सुरु भए पनि सेनाले घोडा बाँध्न प्रयोग गरिरहेको जग्गा खाली नगराएकाले प्रधानन्यायाधीशले खाली गराउन आग्रह गर्नुभएको हो ।
सेनाले केही जग्गा छोडेर सर्वोच्चलाई हस्तान्तरण गर्नुपर्ने भएकाले त्यस विषयमा छलफल गर्न प्रधानसेनापति थापा सर्वोच्च पुग्नुभएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया