अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अविश्वासको प्रस्ताव हाल्नेको हरिबिजोग भयो : सुवास नेम्वाङ

अविश्वासको प्रस्ताव हाल्नेको हरिबिजोग भयो : सुवास नेम्वाङ


काठमाडौं- संविधानसभाका अध्यक्ष एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदमा अविश्वासको प्रस्ताव गर्नेहरूको हरिबिजोग भएको बताउनुभएको छ ।

नेकपा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले आज राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपनेता नेम्वाङले कांग्रेस र जनता समाजवादी पार्टीले प्रचण्ड-माधवको प्रस्तावलाई वेवास्ता गरेपछि उहाँहरूको हरिबिजोग भएको बताउनुभएको हो ।

सर्वोच्च अदालतबाट संसदको पुनस्र्थापना भएसँगै संसदमा भएका त्यसअघिका प्रस्ताव पनि ब्यूँतिएको नेम्वाङले बताउनुभयो । तर, प्रचण्ड माधव समूहले पुस ५ गते प्रधानमन्त्रीविरुद्ध हालेको अविश्वासको प्रस्तावका बारेमा उहाँहरू चुँ नबोलेको नेम्वाङको भनाइ छ । ‘संसद पुनस्र्थापना भएपछि उहाँहरू हतारमा बुढानीलकण्ठ र कताकता जानुभएछ,’ नेम्वाङले भन्नुभयो, ‘सबै ठाउँबाट उहाँहरूलाई यो तपाईंहरूको आन्तरिक मामला हो आफैँ मिलाउनुहोस् भनेपछि अफ्ठेरोमा हुनुहुन्छ ।’

प्रचण्ड माधव समूहले हालेको अविश्वासको प्रस्तावमा अन्य दलको समर्थन नहुने देखेपछि उहाँहरूको हरिबिजोग भएको नेम्वाङले बताउनुभयो । ‘केपी ओलीलाई तत्काल हटाउन अविस्वासको प्रस्ताव हालेको । प्रस्तावमा कसैले समर्थन नगरेपछि फेल हुने अवस्था आयो,’ नेम्वाङले भन्नुभयो, ‘एकपटक प्रस्ताव फेल भएपछि एक बर्षसम्म अर्को अविश्वासको प्रस्ताव लैजान पाइदैन । त्यसैले उहाँहरूको बिजोग मात्र होइन हरिबिजोग भएको छ ।’

अर्को एक प्रशंगमा नेम्वाङले प्रधानमन्त्री ओलीलाई आफूले झन् भर्खरको देख्न थालेको बताउनुभयो । ‘उहाँ अरू २० वर्ष बाँच्छु भन्नुहुन्छ । बालुवाटार निवासमा दैनिक पैदलै १४/१५ फन्का मार्नुहुुन्छ,’ नेम्वाङले भन्नुभयो, ‘मैले उहाँलाई भनेको छु । २० वर्ष बाँच्छु भन्ने कुरा अलि विस्तारै भन्नुहोस् है । फेरी कसैकसैलाई पीर पर्ला ।’