अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

४८ औं सुखानी स्मृति दिवसमा प्रधानमन्त्रीसँग कुराकानी

झापा विद्रोहः नेपालका लोकतान्त्रिक आन्दोलनको जग : प्रधानमन्त्री (विशेष अन्तर्वार्ता)

झापा विद्रोहः नेपालका लोकतान्त्रिक आन्दोलनको जग : प्रधानमन्त्री (विशेष अन्तर्वार्ता)


सम्माननीयज्यू, अतीततिर फर्केर हेर्ने हो भने यहाँलाई विसं २०२० का दशकमा भएको झापा विद्रोहदेखि आजसम्मका अथक योद्धा भन्न मिल्ला ?

झापा विद्रोहदेखि अहिलेसम्म निरन्तर दृढतापूर्वक लागिरहेका दृष्टिले तपाईं मलाई झापा विद्रोहदेखिको अथक योद्धा भन्न पनि सक्नुहुन्छ किनभने मैले थकाइ मानेको पनि छैन, आराम गरेको पनि छैन । म झापा विद्रोहभन्दा अगाडिदेखि राजनीतिमा सक्रिए थिएँ । झापा विद्रोह सुरु गर्नेमध्ये एक थिएँ र त्यसयता जेलमा होस् या भूमिगत अवस्थामा होस् या अरू अवस्थामा लगातार रूपमा संलग्न भइरहेको छु र त्यस आन्दोलनको ‘स्पिरिट’ जुन हो त्यसको प्रतिनिधित्व गर्ने र त्यसका उद्देश्यहरूलाई अगाडि बढाउने काम कसरी गर्नुपर्छ भन्ने कुरामा आफूलाई केन्द्रित गरेको छु । त्यसकारणले पनि मलाई झापा विद्रोहदेखिको अथक योद्धा भन्न मिल्छ । झापा आन्दोलनमै सीमित भई कुरा गर्ने हो भने मलाई झापा आन्दोलनको नेता भन्दा पनि हुन्छ । त्यसभन्दा अगाडिदेखि अहिलेसम्मको कुरालाई हेर्दा अथक योद्धा भन्दा हुन्छ जस्तो मलाई लाग्छ ।

झापा आन्दोलनमा शिवप्रसाद शिवाकोटीको पनि महत्त्वपूर्ण भूमिका थियो भनिन्छ नि । यस आन्दोलनमा उहाँको योगदानका बारेमा प्रकाश पारिदिनुहुन्थ्यो कि ?

झापा आन्दोलन सुरु गर्नुभन्दा अगाडिदेखि नै शिवप्रसाद शिवाकोटीजी आन्दोलनका एक चर्चित नेता हुनुहुन्थ्यो । उहाँ लडाकु स्वभावको र निडर व्यक्ति हुनुहुन्थ्यो । त्यसकारण आन्दोलनमा उहाँ हुनुहुन्छ भनेपछि साथीहरू एउटा भरोसाको स्थितिमा आउँथे । पहिले पहिले म पनि उहाँमाथि भरोसाको स्थितिमा हुन्थेँ । किनभने म उहाँभन्दा कम उमेरको थिएँ; उहाँ मभन्दा अलिक जेठो हुनुहुन्थ्यो । हामीमध्ये अलिक ‘सिनियर’ भनेकै उहाँ हुनुहुन्थ्यो । पछि हामी पनि बिस्तारै ‘लिडर’का रूपमा स्थापित हुँदै गयौँ तर जतिबेला उहाँ ‘लिडर’का रूपमा स्थापित भइसक्नुभएको थियो, त्यतिबेला हामी अलिक स्थापित भइसकेका थिएनौँ । २०२५–२६ सालसम्म पनि उहाँ नै ‘लिडर’का रूपमा स्थापित हुनुहुन्थ्यो ।

क्रान्ति गर्न अनुकूल परेका ठाउँमा मात्र जाने, प्रतिकूल परेका ठाउँमा नजाने भन्ने उहाँको स्वभाव थिएन । आन्दोलनका क्रममा उहाँ जहाँ पनि जानुहुन्थ्यो । खतरासँग डराउनुहुन्नथ्यो । लड्नुभिड्नु पर्दा पनि आत्तिनुहुन्नथ्यो । परिस्थितिको सामना गर्ने सामर्थ्य उहाँमा थियो । उहाँ झापा आन्दोलन सृजना गर्ने पृष्ठभागदेखिकै नेता हुनुहुन्थ्यो र उहाँका समेत अनुभवले झापा आन्दोलन सृजना गर्न महत्त्वपूर्ण भूमिका रह्यो । शिवप्रसाद शिवाकोटी सैद्धान्तिकभन्दा बढी व्यावहारिक राजनेता हुनुहुन्थ्यो । बढी घुमाउरो, बढी विश्लेषणात्मक स्वभाव उहाँमा थिएन । उहाँ सिधा सिधा कुरा गर्नुहुन्थ्यो । उहाँ एक निर्भीक र व्यावहारिक आन्दोलनकारी हुनुहुन्थ्यो । झापा आन्दोलन सृजना, रचना र सञ्चालन गर्ने थोरै नेतामध्ये शिवप्रसाद शिवाकोटी आन्दोलनको मियोका रूपमा हुनुहुन्थ्यो । त्यस रूपमा उहाँको योगदान छ । झापा आन्दोलनभन्दा अगाडिका खास गरी २०२२ देखि २०२७ सम्मका आन्दोलनमा साह्रै थोरै नेताहरूमध्ये उहाँ एक हुनुहुन्थ्यो । यस अर्थ उहाँको प्रखर, नेतृत्वदायी र निर्णायक भूमिका झापा आन्दोलनभन्दा अगाडिका आन्दोलनहरूमा बढी रह्यो ।

झापा आन्दोलन सुरु गर्नुभन्दा अगाडिदेखि नै शिवप्रसाद शिवाकोटीजी आन्दोलनका एक चर्चित नेता हुनुहुन्थ्यो । उहाँ लडाकु स्वभावको र निडर व्यक्ति हुनुहुन्थ्यो । त्यसकारण आन्दोलनमा उहाँ हुनुहुन्छ भनेपछि साथीहरू एउटा भरोसाको स्थितिमा आउँथे ।

झापा आन्दोलनमा आइपुग्दा अरू नेता ‘इमर्ज’ गरेपछि उहाँ ‘एमङ द लिडर्स्’जस्तो हुनुभयो । पहिलेचाहिँ अरू नेताहरू ‘इमर्ज’ गरिएका थिएनन् । रामनाथ दाहाल र शिवप्रसाद शिवाकोटी नै नेता हुनुहुन्थ्यो । उहाँहरू दुवै जना झापा आन्दोलनका मियो हुनुहुन्थ्यो । रामनाथ वैचारिक मियो हुनुहुन्थ्यो भने शिवप्रसाद व्यावहारिक मियो हुनुहुन्थ्यो । उहाँ आन्दोलनमा मैदानको मियो हुनुहुन्थ्यो । झापा आन्दोलनभन्दा अगाडि उहाँहरू दुवै जना मभन्दा सिनियर पनि हो यद्यपि झापा आन्दोलनमा आइपुग्दा आन्दोलनको प्रमुखका रूपमा उहाँहरूबाट समेत निर्वाचित भई मैले पनि काम गरेँ । १७/१८ वर्ष उमेरको भिन्नता भए पनि उहाँहरू मलाई नेता मान्न कुनै अप्ठ्यारो मान्नुहुन्नथ्यो । उमेरको त्यस अन्तरालमा पनि उहाँहरूले मलाई ठिकै विचार गरेर नेता छान्नुभएको थियो क्यार । मेरो सक्रियता, वैचारिक क्षमता, काम आदिको मूल्याङ्कन गरेर नै उहाँहरूले मलाई नेता छान्नुभएको थियो । उहाँहरू परिपक्व नेता हुनुहुन्थ्यो । तर झापा आन्दोलनभन्दा पहिले रामनाथ दाहाल र शिवप्रसाद शिवाकोटी मलगायत सबै साथीहरूको निर्विवाद नेता हुनुहुन्थ्यो । उहाँहरूमा एउटा फराकिलोपन पनि थियो । महत्त्वाकाङ्क्षाभन्दा आन्दोलनको आवश्यकतालाई बढी ध्यान दिनुहुन्थ्यो । त्यतिबेला मलाई नेता नछानेर उहाँहरूमध्ये नै नेता बन्न पनि सक्नुहुन्थ्यो । तर उहाँहरूले त्यसो गर्नुभएन । सायद म केही गर्न सक्छु भन्ने विश्वास र दूरदृष्टि उहाँहरूमा थियो । झापा आन्दोलनको पृष्ठभूमि तयार गर्ने लिडरको भूमिका शिवप्रसाद शिवाकोटी र रामनाथ दाहालको थियो । They were not among the leaders, but they were the leaders.

सम्माननीयज्यू, यहाँ आफैं झापा विद्रोहको नेता भएका नाताले झापा विद्रोह किन र कसरी प्रारम्भ गर्नुभयो भन्ने कुरा प्रस्ट पारिदिनुहुन्थ्यो कि ?

कम्युनिस्ट पार्टीको स्थापना हुँदा लोकतन्त्रको दृष्टिकोण अगाडि सारिएको थियो । गणतन्त्रको दृष्टिकोण अगाडि सारिएको थियो । सामाजिक न्याय र समानताको दृष्टिकोण अगाडि सारिएको थियो । समृद्धिको दृष्टिकोण अगाडि सारिएको थियो । यसले सार तत्त्ववमा देशले लिनुपर्ने सही बाटो र त्यो बाटो देखाउने विचार अगाडि सारेको थियो । तर विभिन्न कारणहरूले ती विचार, ती उद्देश्य अलग अलग भए, ओझेलमा परे, बर्गलिए र ठिक ढङ्गले अगाडि जान सकेनन् । कम्युनिस्ट पार्टी आफैं विशृङ्खलित भयो र एउटा यथार्थमा भन्ने हो भने त्यो विलयनको स्थितितर्फ गयो । पहिले फुट भयो, फुटपछि सङ्गठित भएको थियो । तर, तेस्रो महाधिवेशनपछि विलिनीकरणतिर गयो– सम्पर्क, सम्बन्धविहीन !

सम्पर्क विच्छेदको स्थितिबाट जाँदा त्यस्तो परिस्थिति बन्यो, जसले गर्दा देशमा निरङ्कुश राजतन्त्र, निर्दलीय पञ्चायती व्यवस्था, त्यसको एकदलीय, एकाधिकारवादी चरित्र र दमन, त्यसको प्रतिवाद गर्ने राणाशासनमै जन्मिएका पार्टीहरू कम्युनिस्ट पार्टी र काङ्ग्रेस पार्टी दमनका कारणले शिथिल विखण्डित हुने अवस्था आयो । त्यसले जनतामा आशावादिताको स्थिति नै रहेन ।

जनतामा निराशा र यथास्थितिलाई स्विकार्ने बाध्यकारी अवस्थाबाहेक केही पनि भएन । त्यस अवस्थामा ‘झापा आन्दोलन’ भनेर जेलाई भनिन्छ, त्यसभन्दा अगाडि नै देशमा अन्यत्र नभएको खास गरी पञ्चायत आएपछि नदेखिएका ‘ट्रेन्ड’ हरू, आन्दोलनकारी प्रवृत्तिहरू झापामा देखिए । मुख्य गरी किसान आन्दोलनका रूपमा देखिए । त्यसका विभिन्न स्वरूपहरू देखिए । ती आन्दोलनहरूमा हाम्रो सहभागिता रह्यो, जसमा शिवप्रसाद शिवाकोटी एक जना हुनुहुन्थ्यो ।

राजनीतिक हिसाबमा हामी समकालीन हौँ तर उमेरका हिसाबमा शिवप्रसाद शिवाकोटी मभन्दा ‘सिनियर’ हुनुहुन्थ्यो । म अलिक सानैमा राजनीतिमा लागेकाले उहाँहरूसम्म र मसम्म आइपुग्दा राजनीति सँगसँगै आइपुग्यो । हामी सँगसँगै २०२२ सालतिरबाट राजनीतिमा लाग्यौँ । त्यतिबेला कहिले के सन्दर्भमा, कहिले के सन्दर्भमा आन्दोलनहरू भइरहे । २०२५ सालको किसान आन्दोलन, मूल्यवृद्धि, महँगीका विरुद्धको आन्दोलन, ‘धानको भाउ तोक’ भन्ने खालको समर्थन मूल्य आन्दोलन र खास गरी सुस्ता, महेशपुरसँग सम्बन्धित राष्ट्रवादी आन्दोलनहरू भए । तिनमा रामनाथ दाहाल, शिवप्रसाद शिवाकोटी, द्रोणप्रसाद आचार्य र हामी सरिक भयौँ । त्यसपछि आन्दोलनले अलिकति ठोस रूप लिँदै गयो ।

हामीले गरेका ती आन्दोलन बाहिर देख्दाखेरि सामान्य मागहरू लिएर गरिएका किसान आन्दोलनजस्ता थिए तर ती भित्रैबाट राजतन्त्र विरोधी र पञ्चायत विरोधी महत्त्वपूर्ण आन्दोलन थिए । त्यसबेला हामीले आन्दोलन गर्‍यौँ, जनताका समस्या र तिनको समाधानका कुरा उठायौँ, समाज र राष्ट्रोन्नतिका कुरा गर्‍यौँ, योजना बनायौँ तर व्यवस्थाले हामीलाई अत (अराष्ट्रिय तत्त्व) को बिल्ला भिरायो र गिरफ्तार गर्न थाल्यो ।

त्यसबेला जमिनदारहरूले मोहियानी बेदखल गर्ने प्रचलन आयो । जमिनदारहरू मोहियानी हटाइदिने, बेघर बनाइदिने, मोहीले खेती गरेको बालीसमेत कब्जा गरेर लखेट्ने गर्थे । एकातिर ती जमिनदारहरू अत्यन्तै निरङ्कुश थिए भने अर्कातिर प्रशासनमा गएर ‘फलानो त अततिर लागेको मान्छे हो, घरैमा अत पालेर राख्न सकिन्छ ? त्यसो हुनाले मैले त अतलाई लखेटिदिएँ ।’ भन्थे । प्रशासनले उनीहरूलाई साथ दिन्थ्यो । यस्ता कुराहरूले केही झडप, केही भिडन्तहरू र वास्तवमा मर्ने–मार्नेसम्मका कुराहरू भए । मानिसहरू गिरफ्तार गरिए । जमिनदार गोली हान्दै आउँथे । प्रशासनका नजरमा त्यो सामान्य कुरा हुन्थ्यो । केही नराम्रो हुँदैनथ्यो । तर हामीले ती जमिनदारलाई समातेर पाटपिट गर्दाखेरि मरे भने त्योचाहिँ ठुलो ‘इस्यु’ हुन्थ्यो । जमिनदारले गोली हान्दै आउँदाखेरि कोही मरेनन् त्यो बेग्लै कुरा हो तर मर्न पनि सक्थे । उनीहरूले मारे भने पनि प्रशासनलाई केही फरक पर्दैनथ्यो । त्यस्तो स्थिति देखेपछि हामीले ‘यसै गरेर सामाजिक परिवर्तन सम्भव होला र ?’ भन्ने कुरा गर्‍यौँ । एउटा गम्भीर प्रश्न हाम्रा अगाडि आयो ।

हामी प्रशासन र जमिनदारका विरुद्धमा जुलुस गर्‍यौं । त्यो कसैले सुन्ने होइन । झन् दमन नै बढ्थ्यो । हाम्रा माग जतिसुकै जायज हुन्, तिनलाई सुन्ने, पूरा गर्ने कुरै भएन । कुनै माग गरेर हामीले विरोध प्रदर्शन गर्‍यौँ भने, शान्तिपूर्ण प्रदर्शन गर्‍यौँ भने ‘अतहरूको विरोध’ भनिन्थ्यो ।

हामीले कम्युनिस्ट पार्टीले स्थापनाकालमा उठाएका कुराहरू सम्झियौँ । देशमा डेमोक्रेसी अर्थात् प्रजातन्त्र चाहिन्छ भन्ने कुरामा कम्युनिस्ट पार्टीले जोड दिएको थियो । ‘जबसम्म जन्मसिद्ध श्रेष्ठताका आधारमा मान्छे शासक हुने परिपाटी कायम रहन्छ तबसम्म मान्छे सार्वभौम कसरी हुन्छ ? संविधानभन्दा माथि मान्छे रहने अथवा एउटा जन्मसिद्ध श्रेष्ठताका आधारमा बन्ने ‘इन्स्टिच्युसन’ कायम रहने, सधैँ त्यसले अधिकार खोसिरहने र त्यसैसँग झिनाझम्टीमा समय बर्बाद हुने अवस्थामा कसरी प्रजातन्त्र आउला र ? कसरी देश समृद्धिका बाटामा अगाडि बढ्ला र ?’ भन्ने हामीलाई लाग्यो । त्यसकारण ‘देशमा गणतन्त्र आउनुपर्छ; राजतन्त्रको अन्त्य हुनुपर्छ; लोकतन्त्र आउनुपर्छ र समृद्धि हासिल गर्नुपर्छ, देशमा विकास गर्नुपर्छ । त्यो समृद्धिचाहिँ सबैका लागि हुनुपर्छ; केहीका लागि मात्र होइन । त्यसकारण यो सामाजिक न्याय र समानतासहितको समृद्धिका लागि सङ्घर्ष गर्नुपर्छ ।’ भन्ने निष्कर्ष हामीले निकाल्यौँ । यो निष्कर्ष निकाल्नेमा रामनाथ दाहाल, शिवप्रसाद शिवाकोटी, मोहनचन्द्र अधिकारी र म थियौँ । त्यसपछि अर्का नेता राधाकृष्ण मैनालीसँग कुरा गरेका हौँ ।

जब संवैधानिक सङ्घर्ष गर्ने, कानुनी दायराभित्र रहेर सङ्घर्ष गर्ने ठाउँ छैन भने त्यसका दायरालाई मिच्नु स्वाभाविक हो; मिच्नुपर्छ । कि त यथास्थितिलाई स्वीकार गर्नुपर्छ कि त मिचिन्छ । हामीले मिच्ने अर्को निर्णय गर्‍यौँ । मिचिसकेपछि उसले दमन गर्छ । प्रतिवाद नगर्ने हो भने त दमित नै भएर बस्नु मात्र पर्छ ।

यो निष्कर्ष निकालेपछि सङ्घर्ष त गर्ने तर कसरी गर्ने ? भन्ने कुरो भयो । यो आन्दोलन कानुनी, संवैधानिक दायराभित्र मात्रै र शान्तिपूर्ण मात्रै कसरी हुन सक्छ ? जब संविधानले जुलुस पनि गर्न दिँदैन, कुनै सङ्घसंस्था खोल्न पनि दिँदैन, वाक स्वतन्त्रता दिँदैन, प्रकाशन स्वतन्त्रता दिँदैन, भेला हुने स्वतन्त्रता दिँदैन भने हामीले जति राम्रा काम गर्दा पनि असंवैधानिक र गैरकानुनी हुने अवस्था भयो । हामीले संवैधानिक सङ्घर्ष गर्ने त कुनै ठाउँ नै थिएन । जब संवैधानिक सङ्घर्ष गर्ने, कानुनी दायराभित्र रहेर सङ्घर्ष गर्ने ठाउँ छैन भने त्यसका दायरालाई मिच्नु स्वाभाविक हो; मिच्नुपर्छ । कि त यथास्थितिलाई स्वीकार गर्नुपर्छ कि त मिचिन्छ । हामीले मिच्ने अर्को निर्णय गर्‍यौँ । मिचिसकेपछि उसले दमन गर्छ । प्रतिवाद नगर्ने हो भने त दमित नै भएर बस्नु मात्र पर्छ ।

दास युगमा ‘हामी मानिस होइनौँ, वस्तु हौँ किनभने हामी दास हौँ । हामी वस्तु हौँ, मानिसका रूपमा होइन, वस्तुका रूपमा हामीले आफूलाई सोच्नुपर्छ र वस्तुलाई झैं हामी प्रयोग गरिन्छौँ । त्यसमा हामीले मञ्जुर गर्नुपर्छ किनभने हामी दास हौँ । हामीसँग अर्को राम्रो कुनै उपाय छैन ।’ भन्ने दासहरूको चेतना थियो । आज पनि पशुलाई आफ्ना अधिकारका बारेमा कुनै चेतना छैन । पशुको अधिकार पशुले उठाउँदैन; अरू कसैले उठाइदिन्छ । पशुअधिकारका कुरा उठाउनेहरू पनि छन्; उठि पनि राख्या छन् । हामी पशु पनि थिएनौँ, दास पनि थिएनौँ, मानव थियौँ, सचेत मानव । त्यसैले हामीले हाम्रा अधिकारका कुरा आफैंले उठाउनुपर्‍यो । अधिकारका कुरा गरेपछि दमन भयो । दमनको प्रतिवाद गरेपछि झडप हुन्छ, हिंसा स्वाभाविक रूपमा हुन्छ । उसले हिंसाको प्रयोग गरेर प्रतिवाद दबाउँछ किनभने संवैधानिक र कानुनी अधिकार त छैन । यस्तो परिस्थितिमा गैरकानुनी र हिंसात्मक भनिएको सङ्घर्ष पनि जायज हुन्छ । त्यो चाहे फ्रान्समा, चाहे युरोपका अन्य देशमा, चाहे अमेरिकी स्वतन्त्रता सङ्ग्राममा अथवा रुसी विद्रोहमा चाहे चिनियाँ क्रान्तिमा अथवा उपनिवेशका विरुद्ध भएका विद्रोहहरूमा होस्, बलको प्रयोग भएको छ । बलको प्रयोगमा प्रतिवाद गर्दै आफ्नो शक्तिलाई मजबुद पार्दै जार्नुपर्छ भन्ने हिसाबले झापा आन्दोलन सुरु भयो ।

हाम्रो एउटा उद्देश्य सामाजिक परिवर्तन थियो । त्यसका लागि आन्दोलन गरियो । आन्दोलनका स्वरूपहरूमा जब संवैधानिक निषेध छ, शान्तिपूर्ण ढङ्गले अगाडि बढ्छु भन्ने अवस्था छैन भने त्यसलाई तोडेर अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष हामीले निकाल्यौँ । पहिलो, परिवर्तन ल्याउनैपर्छ, लड्नैपर्छ भन्ने निष्कर्ष; दोस्रो, संवैधानिक दायरा तोडेर भए पनि यसरी आन्दोलन गर्ने भन्ने आन्दोलनको स्वरूप वा दिशा निर्धारणको निष्कर्ष निकालियो । हामीले निर्धारण गरेका उद्देश्यका साथ आन्दोलनलाई अगाडि बढाउँदा ‘इन्स्ट्रुमेन्ट’ (साधन) खोइ त ? आन्दोलन त त्यसै हुँदैन । केले आन्दोलन गर्ने ? त्यसबेला पार्टी छिन्नभिन्न थियो । त्यसैले पार्टी बनाउनुपर्‍यो । त्यस अवस्थामा नयाँ पार्टी निर्माण गर्दै जाने र पुरानाहरूलाई पनि समावेश गर्दै र मिलाउँदै जाने तर पुराना नेताहरूको भर परेर, उनीहरूलाई जम्मा मात्र गरेर शिथिल विचार, शिथिल अनुभव, शिथिल आन्दोलनका प्रवृत्तिहरूबाट आन्दोलन अगाडि जान सक्दैनथ्यो । त्यसकारण नयाँ पङ्क्तिलाई सङ्गठित गरेर पार्टी निर्माण र विस्तार गर्दै जाने कुरामा हामीले जोड दियौँ । त्यसपछि मात्रै एकता/एकीकरण गर्ने कुरा आफ्नो शक्तिमा भर परेर अघि बढाउने निधो गर्‍यौँ । यसरी नै आन्दोलन सुरु भयो, अघि बढ्यो ।

झापाको किसान आन्दोलन र झापा आन्दोलनलाई एउटै रूपमा बुझ्ने गरिएको छ । यी दुई एउटै हुन् या फरक होलान् ?

यी दुइटा बेग्लै कुरा हुन् । झापा आन्दोलनभन्दा अगाडि २०२५ देखि २०२८ सम्म मुख्य रूपमा किसान आन्दोलन चलेको थियो । यसभित्र खास गरी २०२६ र २०२७ सालमा विद्यार्थी आन्दोलनलाई बढी सङ्गठित गर्ने अगाडि बढाउने कार्य भयो । गौरीगन्ज, भद्रपुर, बनियानी, शनिश्चरे, बुधबारेलगायतका क्षेत्रका विद्यार्थी सङ्गठित गर्ने कार्य गरियो । खास गरी भद्रपुरमा मजदुर आन्दोलनलाई सङ्गठित गरियो । आन्दोलनमा शिक्षकहरूको भित्री समर्थन र सहभागिता थियो । यी सबैको केन्द्रमा हामीले मुख्य रूपमा चलाएको चाहिँ किसान आन्दोलन नै थियो । यस आन्दोलनमा मजदुर, किसान, शिक्षक सबैको सक्रिय सहभागिता थियो । यसमा नेतृत्व गर्ने रामनाथ दाहाल र शिवप्रसाद शिवाकोटी नै हुनुहुन्थ्यो । फिल्डमा खटेर काम गर्ने हामी थियौँ । त्यो आन्दोलन बिस्तारै राज्यसत्ता परिवर्तन गर्ने, सामाजिक परिवर्तन ल्याउने, बृहत् उद्देश्य बोकेको राजनीतिक आन्दोलनका रूपमा परिणत भयो र समग्रमा झापा आन्दोलनका नामले परिचित भयो ।

पहिले पहिले चलेको किसान आन्दोलनलाई २०२७ पछि अर्कै बाटो जाने भन्ने आन्दोलनकै रूपमा निष्कर्ष निकालियो । परिवर्तनकारी आन्दोलन, देशमा समृद्धि चाहिन्छ, त्यो समृद्धिको प्रतिफल सबैले पाउने सामाजिक न्याय र समानतामा आधारित हुनपर्छ । त्यसका निम्ति राजनीतिक प्रणाली चाहियो । त्यो प्रणाली ल्याउन सङ्घर्ष गर्नुपर्‍यो । त्यो सङ्घर्ष शान्तिपूर्ण, संवैधानिक र कानुनी दायराभन्दा बाहिर पनि जान सक्ने भयो । त्यसपछि जुझारु, गतिशील, व्यापक कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्‍यो । यी कुरा मनन गरेर हामी अगाडि बढ्यौँ । किसान आन्दोलनलाई सैद्धान्तीकृत गरी हामीले जे निष्कर्ष निकाल्यौँ त्यसैको प्रकटीकरण झापा आन्दोलन थियो ।

२०२८ देखि २०३० मा राजनीतिक सचेतनाका साथ चलेको आन्दोलन मुख्य रूपमा झापा आन्दोलन हो । त्यसको पृष्ठभूमि किसान आन्दोलन थियो । किसानका हक, अधिकार, न्याय, संरक्षण आदिलाई केन्द्रमा राखी स्वस्पूmर्त रूपमा चलेको आन्दोलन नै झापाको किसान आन्दोलन थियो । बिस्तारै राजनीतिक आवरण र संरक्षण पाएपछि २०२८ देखि त्यही किसान आन्दोलन झापा आन्दोलनका रूपमा परिणत भयो ।

झापा आन्दोलनले परिवर्तनको बाटो देखायो तर तत्काल उपलब्धिमूलक परिवर्तन देखिएन । यसर्थ झापा आन्दोलनका केही कमीकमजोरी पनि थिए कि ?

झापा आन्दोलनमा के खराबी भयो भने– पछि केही साथीहरूमा नक्सलबाडी आन्दोलनको र दक्षिणपन्थी प्रवृत्तिको अनावश्यक र अनुचित प्रभाव पर्‍यो । यस कुरामा मोहनचन्द्र अधिकारी, रामनाथ दाहाल, शिवप्रसाद शिवाकोटी, म, हामी कोही पनि सहमत थिएनौँ । तर अरू केही नेताहरू सहमत हुनुभयो । यसले सहमत नहुने अरू साथीहरूलाई काम गर्न नसक्ने खालको वातावरण तयार भयो । पार्टीभित्र असहज र कठिन परिस्थिति सृजना भयो । थिति, विधि नमान्ने कुराहरू देखिए । नेतृत्व पङ्क्तिबाटै साथीहरूलाई हटाइएको घोषणा गर्न थालियो । साथीहरूको बदनाम गर्ने कुराहरू पनि भए । यस्ता आन्दोलनमा अडिन सकिँदैन भनेर कतिपय साथीहरूले आन्दोलन छोड्न थाले । राज्यको चर्को दमन पनि त्यसले धान्न सकेन । यसप्रकारका कमीकमजोरी नदेखिएका भए झापा आन्दोलनले चाँडै महसुस गर्ने गरी परिवर्तन ल्याउन सक्थ्यो ।

कुराकानीका सिलसिलामा गणतन्त्रको बिउ झापा आन्दोलनमै रोपिएको थियो जस्तो लाग्यो । यस विषयमा सम्माननीयज्यूको के धारणा छ ?

अवश्य पनि । २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदै उसले लोकतन्त्रको कुरा उठाएको थियो । त्यो जनतामा सार्वभौमसत्ता रहेको लोकतन्त्रको कुरा थियो । त्यो गणतन्त्रात्मक व्यवस्थाकै कुरा गरिएको थियो, सैद्धान्तिक तवरले । त्यस कुरालाई व्यावहारिक रूपमा लाने त के सैद्धान्तिक रूपमा पनि बोकेर हिँड्न सकिएन । झापा आन्दोलनले चाहिँ २०२८ सालबाट स्पष्ट रूपमा गणतन्त्रको माग अगाडि सार्‍यो र गणतन्त्रका निम्ति लड्ने, राज्यसत्तासँग लड्ने नीति लियो । त्यसकारण गणतन्त्रका निम्तिको पहिलो व्यावहारिक आन्दोलन, व्यवहारमा गणतन्त्रका लागि हतियार नै उठाएर लडेको आन्दोलन भनेको झापा आन्दोलन नै हो । त्यसबाट प्रभावित भएर रामराजाप्रसाद सिंहले गणतन्त्र नेपालको माग गरेका थिए ।

राजा महेन्द्रले सुधार र विकासका काम गरे पनि राजनीतिक पार्टीको ढाड भाँच्ने काम गरे । त्यसका अगाडि छिन्नभिन्न भएका पार्टीहरूले केही गर्न नसक्ने अवस्था थियो । जेलका नेताहरू पनि जेलमा अडिएर बस्ने अवस्था भएन । उनीहरू जेलबाट जसरी भए पनि निस्किन मन गर्थे । कति त कागज गरेर भए पनि निस्किए । नेपाली काङ्ग्रेसका नेता सुवर्णशमशेर राणा बाहिर थिए, उनले वक्तव्य दिए । पछिसम्म पनि नेपाली काङ्ग्रेसका नेताहरूमा राजतन्त्र वा राजाका विरुद्ध दरो गरी उभिन नसक्ने वा बोल्न नसक्ने स्थिति थियो किनभने उनीहरू राजासँग कागज गरेर ‘तिम्रो व्यवस्था मान्छौँ’ भनेर जेलबाट निस्किएका थिए । त्यसैले राजतन्त्र फाल्ने कुरा उनीहरूले पनि गरेनन् । पछि गणेशमानले पञ्चायत विरोधी आन्दोलन गर्नुपर्छ, पञ्चायत हट्नुपर्छ, निरङ्कुश राजतन्त्र हट्नुपर्छ भनेर स्वीकार गरेका हुन् ।

हुन त ‘गणतन्त्र’ शब्द त्रिभुवनले २००७ सालमा पनि प्रयोग गरेका थिए तर अलिकति फरक, लोकतन्त्र वा डेमोक्रेसी वा प्रजातन्त्र भन्ने अर्थमा । त्यो भारतीय गणतन्त्रको प्रभाव थियो । त्यसताका भारतमा संविधान सभा चलिरहेको थियो । त्यसैले नेपालमा पनि संविधान सभा भनियो । पछि न राजाले संविधान सभा मान्यो न काङ्ग्रेसले नै मान्यो । काङ्ग्रेसले राजाको सम्पूर्ण अधिकारसहितको २०१५ सालको संविधानलाई मान्यो । त्यही अधिकारको प्रयोग २०१७ सालमा राजा महेन्द्रबाट गरियो ।

झापा आन्दोलन एउटा साधारण आन्दोलन मात्रै थिएन । नेपालको राजनीतिमा समृद्धि, समाजवाद, सामाजिक न्याय र समानतासहितको समृद्धि, लोकतान्त्रिक प्रणाली, गणतन्त्रात्मक व्यवस्था यी सबै कुरा झापा आन्दोलनले सङ्गठित र व्यवस्थित ढङ्गले अगाडि सार्‍यो । त्यसकारण आजको जुन प्रणाली छ त्यो झापा आन्दोलनले त्यतिबेलै उठाएको थियो र त्यस आन्दोलनकै परिणम हो ।

थुप्रै कुरा आइसके पनि सम्माननीयज्यूले अनुभूत गरेका झापा विद्रोहका केही परिणाम सङ्क्षेपमा राखिदिनुहुन्थ्यो कि ?

झापा आन्दोलनमा दमन भयो, मान्छे मारिए, जेलमा थुनिएका मान्छेहरूलाई सिक्रीले बाँधेर, जङ्गलमा लगेर एकै पटक पाँच जना मारिए । आन्दोलन दबाउन मानवता विरोधी अन्तर्राष्ट्रिय कानुन, प्रचलन, मान्यता विपरीत अत्यन्तै त्रूmर र गैरकानुनी दमनहरू भए । अरू ठाउँमा पनि मान्छेहरू मारिए । विराटनगरमा जेल तोडेर निस्कने क्रममा गोली हानी मान्छेहरू मारिए । विद्रोही भनेर देख्नेबित्तिकै गोली हान्ने आदेश जारी भयो । जसलाई गोली हाने पनि हुने भयो । यी सबै ज्यादतीपूर्ण कुराहरू भए । नकारात्मक परिणामहरू भए ।

यति हुँदाहुँदै पनि झापा आन्दोलनले देशको मनोविज्ञानमा ठुलो सकारात्मक परिवर्तन ल्यायो । आन्दोलन गर्न सकिन्छ र गर्नुपर्छ भन्ने चेतना ल्यायो ।

तर ती काण्डहरू नेपाली काङ्ग्रेसले राजालाई प्रेसर दिने र ‘बार्गेनिङ चिप्स’का रूपमा मात्र प्रयोग गर्‍यो । त्यो उचित थिएन । ‘बार्गेनिङ चिप्स’का रूपमा मात्रै आन्दोलन र बलिदानलाई प्रयोग गर्नु उचित थिएन । आन्दोलन वा बलिदानको प्रयोग निजी वा नेताहरूको स्वार्थसँग अथवा त्यसलाई परिवर्तनबिनाको ‘बार्गेनिङ चिप्स’का रूपमा प्रयोग गर्नुचाहिँ बेइमानी हुन्छ ।

बिपी कोइरालाले झापा आन्दोलनको पछिल्लो अवधिमा ‘एउटा सानो ठाउँमा एउटा भर्खर जन्मिएको सङ्गठनका केही युवाले यत्रो बलिदानको कीर्तिमान् कायम गर्न सक्छन्, यत्रो उथलपुथल ल्याउन सक्छन् भने त्यत्रा आन्दोलनहरू गरेर आएको, त्यत्रो पृष्ठभूमिबाट आएको, दुईतिहाइ ल्याएको, सरकार चलाएको काङ्ग्रेस पार्टीले केही पनि गर्न सक्दैन ? त्यसकारण काङ्ग्रेस उठ्नुपर्‍यो । काङ्ग्रेस फेरि बौरिनुपर्‍यो । झापा आन्दोलनका युवाहरूको वैचारिक पक्षसँग सहमत हुन नसके पनि उनीहरूको त्याग र बलिदानको पक्ष र परिवर्तनको भावनाको म सराहना गर्छु ।’ भनेर झापा विद्रोहको प्रशंसा गरेका छन् ।

बिपी कोइरालाबाहेक अरू कुनै वामपन्थी खालका नेताहरूले त्यसको समर्थनमा बोल्ने हिम्मत गरेनन् । अन्य वामपन्थी नेताहरूले एउटा आफ्नो राजनीतिक/साङ्गठनिक अस्तित्व जोगाउन पनि झापा विद्रोहको विरोध गरे । अर्को शासकीय दमनबाट आफ्नो चमडी जोगाउन पनि त्यसको विरोध गरे । उनीहरूका ती निरर्थक सङ्गठन जीवित राख्न त्यो गतिशील, चलायमान र ज्वालामुखीजस्तो विद्रोहको त उनीहरूले विरोध गर्नै पर्थ्यो ! ती वामपन्थी नेताहरूभन्दा पनि बिपी कोइराला एक ‘स्टेप’माथि उठेर वैचारिक रूपमा असहमति भए तापनि अरू कुरा त्याग, बलिदानी, परिवर्तनका निम्ति बलिदानीपूर्ण ढङ्गले अगाडि बढ्ने आँट साहसका कुरा प्रशंसनीय छन् । त्यसबाट सिक्नुपर्छ भन्ने कुरा गरेका थिए । यसले एउटा मनोबल उठायो । यसपछि काङ्ग्रेसले हरिपुर बमकाण्ड गर्‍यो, विराटनगर बमकाण्ड गर्‍यो, जैसिदेवल बमकाण्ड गर्‍यो, ओखलढुङ्गा काण्ड गर्‍यो । यस्ता अन्य पनि विभिन्न काण्डहरू गर्ने जमर्को गर्‍यो । ती काण्डहरूले राजा केही मात्रामा भए पनि झस्किने अवस्था देखियो ।

तर ती काण्डहरू नेपाली काङ्ग्रेसले राजालाई प्रेसर दिने र ‘बार्गेनिङ चिप्स’का रूपमा मात्र प्रयोग गर्‍यो । त्यो उचित थिएन । ‘बार्गेनिङ चिप्स’का रूपमा मात्रै आन्दोलन र बलिदानलाई प्रयोग गर्नु उचित थिएन । आन्दोलन वा बलिदानको प्रयोग निजी वा नेताहरूको स्वार्थसँग अथवा त्यसलाई परिवर्तनबिनाको ‘बार्गेनिङ चिप्स’का रूपमा प्रयोग गर्नुचाहिँ बेइमानी हुन्छ ।

झापा आन्दोलनकै प्रभावले तेह्रथुममा पनि आन्दोलनहरू भइरहे । त्यहाँ भएका आन्दोलनहरूको मुख्य नेतृत्व रामनाथ दाहाल, शिवप्रसाद शिवाकोटीहरूकै साथी सूर्य कन्दङ्वा, सीएम् कन्दङ्वाहरूले गर्नुभयो ।

मुख्य कुरा यस आन्दोलनले देशमा महत्त्वपूर्ण सन्देश दियो, जनताको मनोबल उठायो, राजनीतिक पार्टीहरूको मनोबल उठायो, अरूलाई झकझक्यायो, सङ्गठित हुन लगायो । झापा आन्दोलन सँगसँगै ‘न्युक्लियस’ बन्यो । एक थरी कम्युनिस्टहरूले चौथो महाधिवेशन गरे । यिनै परिवेशले २०३२ सालको विद्यार्थी आन्दोलन, २०३५–२०३६ सालको आन्दोलन, नेपाली काङ्ग्रेसको सत्याग्रह हुँदै गएर २०४६ सालको आन्दोलन र एउटा परिवर्तनसम्म पुर्‍याउने काम झापा आन्दोलनले गर्‍यो । झापा आन्दोलनले निर्माण गरेका शक्तिहरूले, जगाएका चेतनाले र निर्माण गरेका सङ्गठनले देशमा आजसम्मको परिर्वतनको स्थिति आयो ।

शिवप्रसाद शिवाकोटीसँग यहाँको व्यक्तिगत सम्बन्ध पनि थियो त ?

व्यक्तिगत सम्बन्ध त मलाई सम्झना छैन । त्यो बामे सर्दादेखि हो कि, टुकुटुकु हिँड्दादेखि हो कि कहिलेदेखि हो ! त्यो थाहा छैन । उहाँ मेरो र मेरा बुवाका उमेरका बिच बिचको, अलिक बुवाका उमेरका छेउछाउको हुनुहुन्थ्यो । त्यसो भएकाले पहिले पहिले बहस गर्‍यो भने उहाँ ‘अए, बाउका उमेरका मान्छेसँग मुखमुखै लाग्ने !’ भनेर जिस्क्याउनुहुन्थ्यो । यो स्वाभाविक कुरा हो । उहाँ हामीले नेता मानेको, प्रेरणा पाएको, हौसला पाएको ‘लिडर’ हुनुहुन्थ्यो, अगुवा व्यक्ति हुनुहुन्थ्यो । राजनीतिमा हामी उस्तै उस्तै समयमा प्रवेश गर्‍यौँ जस्तो लाग्छ, यद्यपि उहाँ नेताका रूपमा काम गर्नुहुन्थ्यो, हामीचाहिँ अलिक जुनियर ‘क्याडर’का रूपमा काम गथ्यौँ । कहिलेकाहीँ बहसमा जङ चल्यो भने मलाई ‘तिम्रा बासँग छेलो खेलेको मान्छे हुँ म, फुर्ती गर्छौ !’ भन्नुहुन्थ्यो । हामी नयाँहरू अलिक बढी तर्क गर्न रुचाउँथ्यौँ । उहाँहरूचाहिँ तर्कभन्दा बढी व्यावहारिक ‘लिडर’ हुनुहुन्थ्यो ।

उहाँ मेरो र मेरा बुवाका उमेरका बिच बिचको, अलिक बुवाका उमेरका छेउछाउको हुनुहुन्थ्यो । त्यसो भएकाले पहिले पहिले बहस गर्‍यो भने उहाँ ‘अए, बाउका उमेरका मान्छेसँग मुखमुखै लाग्ने !’ भनेर जिस्क्याउनुहुन्थ्यो । यो स्वाभाविक कुरा हो । उहाँ हामीले नेता मानेको, प्रेरणा पाएको, हौसला पाएको ‘लिडर’ हुनुहुन्थ्यो, अगुवा व्यक्ति हुनुहुन्थ्यो ।

मुलुकको उन्नति, प्रगति र अल्पकालीन तथा दीर्घकालीन परिवर्तनका लागि शिवप्रसाद शिवाकोटीलगायत धेरै योद्धाको भूमिका रहेको छ । उहाँहरूलाई कसरी सम्झन उपयुक्त होला ?

देखिने गरी सम्झने कार्य गर्न सकेका छैनौँ तर हामीले बिर्सेका छैनौँ र बिर्सन नै मिल्दैन । केही साथीहरू अनुचित ढङ्गले इतिहासलाई थिच्न–मिच्न खोज्नुहुन्छ । उहाँहरू राजनीतिमा ढिलो प्रवेश गर्नुभएको छ । रामनाथ दाहाल र शिवप्रसाद शिवाकोटीले किसान आन्दोलन, झापा आन्दोलन सुरु गरिसक्नुभएको थियो । हामीले विद्रोही जिल्ला कमिटी बनाइसकेका थियौँ । हामीले मनमोहन अधिकारीहरूसँग विद्रोह गरिसकेका थियौँ । यसपछि आउने साथीहरूले प्रारम्भका योद्धाहरूको योगदान नबुझ्नुभएको होला । तर हामीले बुझेका छौँ, सम्झिएका छौँ, बिर्सेकै छैनौँ ।

झापा आन्दोलनमा शिवप्रसाद शिवाकोटीकी पत्नी कृष्णादेवी शिवाकोटीको पनि महत्त्वपूर्ण भूमिका छ भनिन्छ नि । उहाँको कस्तो भूमिका थियो ?

यो विषय तपाईंले नउठाए पनि म आफैं उठाउनेवाला थिएँ किनभने कृष्णादेवी भाउजूको चर्चा नगरीकन शिवप्रसाद शिवाकोटीको चर्चा वा झापामा किसान आन्दोलनको चर्चा वा झापा आन्दोलनको चर्चा अपूर्ण हुन्छ ।

म प्रभावित भएको एक जना मेरी हजुरआमासँग हो, जसले सानैदेखि मलाई शिक्षा, दीक्षा, तालिम दिनुहुन्थ्यो र अर्को कृष्णादेवी भाउजू । उहाँको व्यवहार, शीलस्वभाव, लक्षणहरू नै राम्रा थिए । उहाँको चेहरामा कान्ति भरिपूर्ण थियो । उहाँ कहिल्यै दुःख पाएँ भन्ने सोच्नुहुन्नथ्यो । साथीहरू राती, मध्य रातमा, दुई बजे राती जतिबेला आउन्, उहाँ उठ्न, खाना बनाउन, खुवाउन कुनै गाह्रो मान्नुहुन्नथ्यो । उहाँ अत्यन्तै आत्मीय व्यवहार गर्नुहुन्थ्यो । झर्कोफर्को गर्नुहुन्नथ्यो । जो पनि साथीभाइ त्यहाँ पुगेपछि घर पुगे जस्तो ठान्नुहुन्थ्यो । कसैले पनि केही भन्न हिचकिचाउनुहुन्नथ्यो । उहाँले सोध्न पाउनुभएकै हुन्नथ्यो । साथीहरू भन्नुहुन्थ्यो, ‘लु भाउजू, मैले त खाएको छैन, भोक लाग्यो ।’ अरूका घरमा गएर यसरी बोल्दा मान्छे हच्किन्छन् । तर त्यहाँ हच्किने कुनै सम्भावना नै हुँदैनथ्यो । हँसिलो अनुहारले सबैलाई स्वागत गर्नुहुन्थ्यो ।

कृष्णा भाउजू प्रत्यक्ष रूपमा आन्दोलनमा सहभागी त हुनुभएन तर आन्दोलनका सहभागीहरूलाई कतिबेला खाना खुवाउनुपर्छ, कतिबेला खाना तयार राख्नुपर्छ, कतिबेला जान्छन्, कतिबेला आउँछन्, मैले थाहा पाएसम्म उहाँ सत्कारका लागि तयार रहनुहुन्थ्यो । खाना मात्र होइन, हौसला–प्रेरणा पनि दिनुहुन्थ्यो । उनीहरूको सुरक्षाको चिन्ता लिइरहनुहुन्थ्यो । ‘सुरक्षित भएर काम गर्नुहोस् ।’ भन्नुहुन्थ्यो । उहाँले हृदयदेखि नै आन्दोलनलाई सहयोग गर्नुभएको थियो । उहाँले छोराछोरी हुर्काउनुपर्थ्यो, गाईभैँसी हेर्नुपथ्र्यो, खेतबारी हेर्नुपर्थ्यो । यी सबै काम भ्याउनुहुन्थ्यो । अत्यन्तै सक्रिय रहनुहुन्थ्यो; एकदम थोरै सुत्नुहुन्थ्यो । घरको काम सबै सकिएपछि हामी एघार बजेतिर पुगेका हुन्थ्यौँ । फेरि खाना बनाउनुहुन्थ्यो, खुवाउनुहुन्थ्यो, भाँडा माझ्नुहुन्थ्यो र २ बजे सुत्नुहुन्थ्यो । बिहान पाँच बज्दा अघि नै उठिसक्नुहुन्थ्यो । मैले उहाँलाई एकपल्ट, दुईपल्ट देख्या होइन; धेरै पटक उहाँकै घरमा मिटिङ भए; धेरै पटक त्यहीँ बसियो । उहाँ मनको पनि ‘ब्राइट’, विचारको पनि ‘ब्राइट’, चेहराको पनि ‘ब्राइट’ हुनुहुन्थ्यो । उहाँसँग भेट भएपछि एकखालको आनन्द, एकखालको प्रेरणा, एकखालको हौसला, एकखालको ढुक्कको ऊर्जा प्राप्त भएजस्तो हुन्थ्यो ।

शिवप्रसाद शिवाकोटीसँग सिक्नुपर्ने मात्रै कुराहरू छन् । कसैकसैसँग सिक्नुनपर्ने दुर्गुण पनि हुन्छन् । कोही जँड्याहा हुन्छन्, कोही बेस्सरी तास खेलेर समय बिताउँछन्, आन्दोलनप्रति अनुत्तरदायी हुन्छन्, आफ्ना कामप्रति अनुत्तरदायी हुन्छन्, नेता भए पनि स्वार्थी हुन्छन्, अरूको वास्ता गर्दैनन्; आफ्नो मात्र वास्ता गर्छन् । तर उहाँ त्यस्तो खालको मान्छे होइन । मैले चाहिँ उहाँमा त्यस्तो कुनै दुर्गुण देखिनँ ।

मैले धेरै ठाउँमा भन्ने गरेको छु– ‘मेरी हजुरआमा र कृष्णादेवी भाउजूबाहेक त्यस कोटीका महिला मैले देख्या छैन ।’ म मनदेखि उहाँलाई त्यति नै श्रद्धा गर्थेँ । उहाँ सद्विचार र सद्गुणको खानी नै हुनुहुन्थ्यो । म कहिलेकहीँ भन्ने गर्थें, ‘हैन, तपाईँले यति साह्रै दुःख त गर्नु पर्दैन । यति साह्रै दुःख नगर्नुस् न ।’ उहाँले ती कुरालाई कहिल्यै दुःखका रूपमा लिनुभएन ।

शिवप्रसाद शिवाकोटीबाट सिक्नुपर्ने केही कुरा भए भनिदिनुहुन्थ्यो कि ?

शिवप्रसाद शिवाकोटीसँग सिक्नुपर्ने मात्रै कुराहरू छन् । कसैकसैसँग सिक्नुनपर्ने दुर्गुण पनि हुन्छन् । कोही जँड्याहा हुन्छन्, कोही बेस्सरी तास खेलेर समय बिताउँछन्, आन्दोलनप्रति अनुत्तरदायी हुन्छन्, आफ्ना कामप्रति अनुत्तरदायी हुन्छन्, नेता भए पनि स्वार्थी हुन्छन्, अरूको वास्ता गर्दैनन्; आफ्नो मात्र वास्ता गर्छन् । तर उहाँ त्यस्तो खालको मान्छे होइन । मैले चाहिँ उहाँमा त्यस्तो कुनै दुर्गुण देखिनँ । कहिलेकहीँ ‘तिम्रा बाउसँग छेलो खेलेको मान्छे हुँ ।’ भन्नुहुन्थ्यो । त्यो ठट्टा–मजाकको कुरा थियो, गालीगलौजको कुरा थिएन । झर्कोफर्को गर्ने उहाँको स्वभाव थिएन । अलिकति लडाकु स्वभावको हुनुहुन्थ्यो । कसैकसैलाई उहाँको लडाकु स्वभाव मन परेन किनभने उहाँ दब्ने स्वभावको हुनुहुन्थ्यो । फिटिक्कै दब्नुहुन्नथ्यो । एउटा गज्जबको कुरा– २० जना गुन्डाले शिवप्रसाद एक्लैलाई भेटे भने पनि आक्रमण गर्ने आँट गर्दैनथे । सानोसानै काँटको मान्छे हुनुहुन्थ्यो तर फुर्तिलो । एकदुई पटक दश–पन्ध्र जना गुन्डाले आक्रमण पनि गरिहेरे तर बड्याङबुडुङ् दिएर ठिक लाइदिएपछि गुन्डाहरूले आँट गर्न छोडे । कसैले लौरो लिएर आक्रमण गर्‍यो भने लौरो च्याप्प समाएर, खोसेर त्यसैले ठटाउने । हतियार लिएर आक्रमण गर्‍यो भने पनि खोसेर त्यसैले प्रत्याक्रमण गर्ने डर ! आत्मरक्षाको कुरा पनि जान्ने । आक्रमण गर्‍यो भने जबाफचाहिँ कडै दिन्छ भन्ने ‘इम्प्रेसन’चाहिँ पार्नैपर्छ । उहाँले पनि त्यो ‘इम्प्रेसन’ दिनुहुन्थ्यो । म पनि कतिले ‘एट्याक’ गरे, कस्तो अवस्थामा ‘एट्याक’ गरे भनेर हेर्दिनँ, प्रत्याक्रमण गरिहाल्छु, जस्तोसुकै परिस्थिति आओस् । हारजित भनेको पछिको कुरा हो । चुप लागेर सहने कुरो हुँदैन । हारियो भने हारियो नि, त्यो त पछिको कुरा हो । हारिन्छ भनेर पहिले नै चड्कन खाएर बसिरहने कुरा त हुँदैन । उहाँले कहिल्यै हारेको देखिएन र थाहा पनि पाइएन ।

उहाँ आन्दोलनप्रति, मानव जातिप्रति, देशप्रति, जनताप्रति, गरिबहरूप्रति अत्यन्तै समर्पित र सहयोगी हुनुहुन्थ्यो । सबभन्दा ठुलो कुराचाहिँ उहाँ इमानदार हुनुहुन्थ्यो । जे बोल्नुहुन्थ्यो, जे गर्नुहुन्थ्यो त्यसमा इमानदार हुनुहुन्थ्यो । उहाँ एउटा असल श्रीमान् हुनुहुन्थ्यो, असल छोरो, असल बाबु, असल साथी, असल नेता, असल कार्यकर्ता र जनताको प्रिय मान्छे हुनुहुन्थ्यो; परिवर्तनको चाहना राख्ने परिवर्तनकामी हुनुहुन्थ्यो । उहाँ न्यायका निम्ति परिवर्तन चाहनुहुन्थ्यो ।

अन्त्यमा कुराकानीका सिलसिलामा सोध्न र भन्न छुटेका केही कुरा भए भनिदिनुहुन्थ्यो कि ?

सङ्गठनमा नक्स्लाइटको प्रभाव पर्‍यो । नक्स्लाइटको प्रभाव स्वरूप झापामा देखिएको ‘वर्गशत्रु खतम अभियान’का नाममा मान्छे मार्ने अभियानमा रामनाथ दाहाल, शिवप्रसाद शिवाकोटी, मलगायत व्यक्तिको असहमति थियो । नक्स्लाइटहरू आफ्ना विचार स्वीकार नगर्नेलाई मारिदिन्थे । सरकारले पनि अत भनेर मार्ने ! साथीहरूसँग पनि बच्न कठिन ! अत्यन्तै विषम परिस्थितिका बिचमा शिवप्रसाद शिवाकोटी बाहिर (भारतको आसाम) जानुभयो । उहाँ गएर पनि सङ्गठित भएर आन्दोलनमै सरिक हुनुभयो ।

सबभन्दा ठुलो कुराचाहिँ उहाँ इमानदार हुनुहुन्थ्यो । जे बोल्नुहुन्थ्यो, जे गर्नुहुन्थ्यो त्यसमा इमानदार हुनुहुन्थ्यो । उहाँ एउटा असल श्रीमान् हुनुहुन्थ्यो, असल छोरो, असल बाबु, असल साथी, असल नेता, असल कार्यकर्ता र जनताको प्रिय मान्छे हुनुहुन्थ्यो; परिवर्तनको चाहना राख्ने परिवर्तनकामी हुनुहुन्थ्यो ।

झापा आन्दोलनलाई गलत दिशामा नलगेको भए झापा आन्दोलन त्योभन्दा धेरै सफलताका साथ अगाडि बढ्थ्यो र धेरैअगाडि सफल पनि हुन्थ्यो । त्यसलाई गलत दिशामा लगेपछि त्यो अलोकप्रिय पनि भयो, आलोचित पनि भयो र सबै साथीहरूले निरन्तर योगदान गरिरहन सक्ने स्थिति पनि भएन ।

झापा आन्दोलनलाई हामीले ठिक ढङ्गले बुझ्नु जरुरी छ । त्यसमा केही कमजोरीहरू थिए । केही कमजोरीहरू सापटी लिइए । तर त्यस आन्दोलनका मौलिक चरित्र, मौलिक उद्देश्य, मौलिक तरिका र त्यसले देशका लागि जुन जागरण ल्याउन बिगुलको काम गर्‍यो, जुन बलिदानको एउटा नयाँ सिलसिला, सङ्घर्षको सिलसिला र सही ‘डिरेक्सन’ दियो त्यो अत्यन्त महत्त्वपूर्ण रहेको छ । पछि आएर केही कुरा थपिए होला, तरिका पुगेन होला, अनुभव पुगेन होला तर त्यसले उठाएका माग अत्यन्त सही थिए । त्यो कुरा झापा आन्दोलन सुरु गरेर अहिले यहाँसम्म ल्याइपुर्‍याउँदा र त्यस आन्दोलनको सुरुवातकर्तामध्ये एक जनाले अहिले पनि देशलाई परिवर्तनका बाटामा नेतृत्व गरिरहेकाले पनि पुष्टि हुन्छ । संयोगको कुरो यो हो कि म बाँचेर आएँ, कहिले बिमारले कहिले अरू हिसाबले । यस दृष्टिकोणले होर्दाखेरि झापा आन्दोलनको ‘डिरेक्सन’ सही थियो भन्ने बुझिन्छ । अर्को कुरा आज देशमा परिवर्तनको, विकासको, सामाजिक न्याय र समानताको कुरा गरिरहेका छौँ । ती कुनै नयाँ कुरा होइनन् । भाषामा थोरै परिवर्तन होला, केही परिष्कृत होला, परिमार्जन भएर आएका होलान् तर कुरा त्यही हो जुन उहिले रामनाथ दाहाल, शिवप्रसाद शिवाकोटी, मोहनचन्द्र अधिकारी, म, राधाकृष्ण मैनालीहरूले चर्चा गर्थ्यौं ।

स्रोतः शिवप्रसाद शिवाकोटीः झापा विद्रोहका एक कमाण्डर पुस्तकबाट साभार । पुस्तक सुखानी सहिद स्मृति दिवसका अवसरमा शुक्रबार झापाबाट सार्वजनिक हुँदैछ ।