अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सकियो ‘गणपति’ को छायांकन

सकियो ‘गणपति’ को छायांकन


अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान अभिनीत फिल्म ‘गणपति’ को सुटिङ प्याकअप भएको छ । माघ ८ गते बन्दीपूरमा क्यामेरा ‘अन’ भएको फिल्मको हालै मात्र सम्पूर्ण छायांकन पूरा भएको हो । फिल्मको छायांकन सकेर निर्माण टिम काठमाडौं फर्किसकेको छ । अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक सविन अधिकारीले जानकारी दिए ।

फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा भएको हो । फिल्ममा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंको हो ।

लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्मले भगवान र मानिसबीचको फरक देखाउनेछ । हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी रहेको फिल्मको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् । फिल्मलाई २०२१ भित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ ।

गोविन्द शाहीले वितरण गर्ने फिल्मको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टका श्रीदेव बि.एल.का अनुसार यो फिल्म नेपाल भन्दा पहिले यू.के. र अष्ट्रेलियामा रिलीज हुनेछ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । फिल्ममा अभिनेता भुषाल टाइटल क्यारेटरमा छन् । ‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको भनाई छ ।