अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्राजिलमा पहिलो पटक एकैदिन भेटिए ९० हजार कोरोना संक्रमित

ब्राजिलमा पहिलो पटक एकैदिन भेटिए ९० हजार कोरोना संक्रमित


रियो डे जेनेरियो- गएको २४ घण्टामा ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) का ९० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । ब्राजिलमा पहिलो पटक यति धेरै नागरिक संक्रमित पाएको हो ।

ब्राजिलका स्वास्थ्यसम्बन्धी सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अर्थात् बुधबार रातिसम्ममा ९० हजार ३०३ जना संक्रमित भएका बताइएको छ ।

ब्राजिलमा अहिलेसम्म कुल एक करोड १६ लाख ९३ हजार ५५८ जना संक्रमित भएका छन् भने दुई लाख ८० हजार जनाभन्दा बढीको मृत्यु भइसकेको पनि बताइएको छ ।

त्यसैगरी सोही अवधिमा कम्तीमा २ हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

यो मृत्यु पनि गएका केही हप्तापछि गत २४ घन्टाको अवधिमा भएको मृत्युको धेरै संख्या भएको पनि बताइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको उपचारका लागि सेवा क्षमता कम भएको बताइएको छ । जसका कारण पनि कतिपय अवस्थामा अस्पतालमा शैया र औषधि अभाव भएको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोना भाइरसविरुद्धको खोप पनि लगाउन थालिएको छ ।

ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले पनि गत शनिबार कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको थियो ।

पछिल्लो जानकारी अनुसार मंगलबारसम्ममा यहाँका १ करोड ४० लाखभन्दा बढी नागरिकले खोप लगाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यो जानकारी दिएको समाचारमा जनाइएको छ ।

ब्राजिल विश्वमा कोभिड-१९ को संक्रमणबाट पीडित अमेरिकापछिको दोस्रो देश हो ।