काठमाडौं-अमेरिकाले भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण रोक्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा उक्त अपिल गर्नुभएको हो।
पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भन्नुभयो, ‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। मध्य पूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै पनि समाधान निस्कँदैन । युद्ध, सेना र हिंसा समाधान होइनन् । नयाँ विचार र कूटनीति नै पुस्तौंदेखि चल्दै आएको हिंसा र समस्या रोक्ने एक मात्र समाधान हो।’
भारत र पाकिस्तानबीच मध्यस्थताको प्रश्नमा ट्यामी ब्रुसले भन्नभयो, ‘जब सम्बन्धित देशका नेताहरू कूटनीतिक वा कुनै पनि स्तरमा कुरा गरिरहेका हुन्छन्, तब हामी यसको जानकारी साझा गर्दैनौं । यो हाम्रो नीति हो।’
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफसँग फोनमा कुराकानी गरेको जानकारी पनि दिनुभयो।
प्रतिक्रिया