अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माथिल्लो तामाकोशी अन्तिम चरणमा, वैशाख दोस्रो सातादेखि सुरुङमा पानी हालिने

माथिल्लो तामाकोशी अन्तिम चरणमा, वैशाख दोस्रो सातादेखि सुरुङमा पानी हालिने


काठमाडौं- स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना यही चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोना र केही प्राविधिक जटिलताका कारण आयोजनाको काममा ढिलाइ भएको हो । माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको हो । पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी वैशाखको दोस्रो साताभित्रमा सम्पन्न गर्ने लट–२ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।

हाल हाइड्रोमेकानिकलतर्फका केही गेटहरु र पेनस्टक पाइपसँग सम्बन्धित केही कङ्क्रिटिङको काम मात्रै बाँकी छ । बाँकी रहेका सानतिना काम सम्पन्न गरी आगामी वैशाखको दोस्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचना तथा गेट, म्यानहोल र भल्भको प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ ।

मुख्य निर्माणअन्तर्गत बाँध/इन्टेक, मुख्य सुरुङ, विद्युत् गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्र्याउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले निर्माणस्थलको स्थलगत अवलोकन गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारहरुसँग संयुक्तरुपमा बाँकी रहेका निर्माण कार्य शीघ्र सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिका बारेमा छलफल गर्नुभएको छ ।

बाँकी रहेका काम आगामी वैशाख १० गतेभित्र सम्पन्न गरी वैशाख ११ बाट सुरुङमा थोरै परिमाणमा पानी पठाइ मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न सुरू गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । रासस