अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनबाट २० हजार सिलिन्डर ल्याउँदै सरकार

चीनबाट २० हजार सिलिन्डर ल्याउँदै सरकार


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ ।

कोभिड-१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिनुभयो । उहाँले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताउनुभयो ।

‘हामीसँग अक्सिजन ग्यासको कमी छैन,’ उहाँले भन्नुभयो, ‘तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पुर्‍याउन कठिन भएको हो ।’

मन्त्रालयले प्राणवायु (अक्सिजन) को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् ।

ती अस्पतालबाट दैनिक दुई हजार ५ सय ४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ ।

अस्पतालसँग ६ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक ८ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ ।