अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ज्यान बचे विकास त पछि गरौँला, अहिले जनता बचाउन खर्च गरौँ : मेयर ओझा

ज्यान बचे विकास त पछि गरौँला, अहिले जनता बचाउन खर्च गरौँ : मेयर ओझा


काठमाडौं- डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन) ले सानातिना कुरामा प्रदेश र केन्द्रलाई दोष दिएर स्थानीय तहले उम्कन नहुने बताउनुभएको छ ।

कोभिड संक्रमितको उपचार र व्यवस्थापनका धेरै काम स्थानीय सरकारले नै गर्न सक्ने र सोहीअनुसार आफूहरूले काम गरिरहेको प्रमुख ओझाले बताउनुभयो । ‘स्थानीय सरकारसँग पनि बजेट र साधन स्रोत छ, जनता बचे विकास पछि गरौँला, अहिले जनता बचाउन खर्च गर्ने हो,’ उहाँले भन्नुभयो ।

यतिबेला संघीय सरकार र प्रदेश सकारको ध्यान ठूलाठूला इकुपमेन्टस् र देशभित्र सहज नपाइने औषधि तथा उपकरणको व्यवस्थापनमा जानुपर्ने उहाँको सुझाव छ । ‘बाँकी त स्थानीय सरकारले मिलाउने हो,’ ओझाले भन्नुभयो ।

डडेल्धुरा सुदूरपश्चिमको सात वटा जिल्लाको केन्द्र हो । त्यहाँ सुदूरपश्चिमका सातभन्दा बढी जिल्ला मानिस पुग्छन् । त्यसैले संक्रमणको व्यवस्थापनको लागि त्यहाँ ठूलै तयारी गर्नुपर्ने ओझाले बताउनुभयो । ‘एउटा ठूलो अक्सिजन प्लान्ट जडान गर्न पाइयो भने यस क्षेत्रका नागरिकको उपचारमा सहयोग पुग्छ, हो यसमा प्रदेश र केन्द्र सरकारको ध्यान जानु पर्‍यो,’ उहाँले भन्नुभयो ।

अहिले डडेल्धुरा अस्पतालको दैनिक २७ सिलिण्डर अक्सिजन ग्यास उत्पादन गर्ने क्षमताको प्लान्ट छ । तर त्यसले संक्रमितलाई धान्ने अवस्था छैन । त्यसैले केन्द्र, प्रदेश स्थानीय सरकार मिलेर ठूलो प्लान्ट जडान गर्ने काम गर्नुपर्ने उहाँको प्रस्ताव छ ।

अहिले डडेल्धुरा अस्पतालमा पीसीआर मेसिन छ । त्यो पीसीआर मेसिन स्थानीय तहकै व्यवस्थापनमा जडान गरिएको हो । संकट पर्दा स्थानीय तह मिलेर धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण विगतमा पनि डडेल्धुराले देखाइसकेको छ ।

अहिले कोभिड अस्पताल पनि सबै स्थानीय तहको साझेदारीमा बनिरहेको छ । अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । ढिलोमा १५ दिनमा सो अस्पताल सञ्चालनमा आइसक्ने छ ।

शनिबार बेलुकासम्म अमरगढीमा १ सय ९९ सय जनामा कोभिड संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संक्रमण देखिएका धेरैमा रिपोर्ट पोजिटिभ आएपनि कुनै लक्षण देखिएको छैन । उहाँहरू धेरै जना होम आइसोलेसनमा हुनुहुन्छ ।

केही नगरपालिकाले बनाएको आइसोलेसनमा हुनुहुन्छ भने २७ जना नियमित अक्सिजन दिनुपर्ने बिरामी भने डडेल्धुरा अस्पतालमा हुनुहुन्छ ।

नगरपालिकाले एउटा स्कुलमा आइसोलेसन बनाएको छ । त्यहाँ २० जनाको लागि बेड तयार छन् । जहाँ १२ जना बसेका छन् । सामान्य खालका संक्रमित त्यहाँ बस्छन् । अक्सिजन दिनु पर्ने बिरामी अस्पताल पठाइएको छ । अस्पतालमा अक्सिजन लगायतको प्रवन्ध नगरपालिकाले गरेको छ ।

अस्पतालको छेउमा रहेको रेडक्रसको भवनलाई समेत अस्पतालले प्रयोग गर्ने गरी १६ बेड थपिएको छ । स्वास्थ्यकर्मीलाई त्यहाँ बिरामी राख्दा हेर्न सजिलो हुन्छ भनेर त्यो व्यवस्था गरिएको नगरप्रमुख ओझा बताउनुहुन्छ ।

अन्यत्र जस्तै अहिलेको डडेल्धुराको समस्या पनि अक्सिजनकै छ । नगरपालिकाको टिपरले हिजो साँझ मात्रै ४० वटा अक्सिजनको सिलिण्डर नेपालगञ्जबाट ल्याएको छ ।

यसको विकल्पको रुपमा अक्सिजन उत्पादन गर्ने १० वटा मेशिन खरिद गर्न नगरपालिकाले पाँच दिनको टेन्डर आह्वान गरेको छ । त्यसले १० जनालाई नियमित अक्सिजन दिन सक्छ । ती मेशिन पनि अस्पतालमै राख्ने योजना नगरपालिकाको छ ।

त्यस्तै नगरपालिकाको अफिसियल जिपलाई एम्बुलेन्स बनाएर बिरामी बोक्न प्रयोग गरिएको छ । ‘आजबाट एम्बुलेन्स तयार भयो, आजैबाट दौडिन लागेको छ, मानिस बस्ने सामान्य सिट हटाएर बिरामी राख्ने सिट बनाइयो, कोभिडका बिरामी बोक्नु पर्ने भएकोले ड्राइभर बस्ने सिटलाई पार्टेसन गरेर छुट्टै बनाइयो, त्यसले पनि बिरामी ओसार्न थप सहज भएको छ,’ उहाँले भन्नुभयो ।

संक्रमणको दर बढे पनि सुरुको दिनको तुलनामा रिक्स केही घटेको नगरप्रमुख ओझाको अनुभूति छ । ‘केस पोजिटिभ देखिइरहेको छ, मैले सकेसम्म धेरै मानिसलाई सम्पर्क गरिरहेको छु, अमरगढीका ८ हजार बढी नागरिकको फोन मसँग अपडेट छ, थोरै मानिस मात्र धेरै समस्यामा छन्, रिस्क चाहीँ केही घटे जस्ता लाग्छ,’ उहाँले भन्नुभयो ।

सरकार रोग नियन्त्रणमा लागि रहेकाले यसमा नागरिकलाई पनि सहयोग गर्न उहाँले अपिल गर्नुभयो । ‘यतिबेला राज्यले जारी गरेको निर्देशन पालना गर्नुपर्छ, मान्छे आफूलाई नपरेसम्म सिरियस देखिएको छैन, यो लकडाउन लगाएर बजारमा प्रहरी दौडाउनु पर्ने बेलै होइन, नागरिकले आफैँ बुझ्ने कुरा हो, यतिबेला सबैको सामूहिक जिम्मेवारी छ, सबै नागरिक जिम्मेवार भएभने रोग नियन्त्रण हुन्छ,’ ओझाले भन्नुभयो ।

यस्तो बेलामा पनि कालोबजारी मौलाएकोमा भने ओझा चकित पर्नुभएको छ । ‘यो सेवा गर्ने बेला पो हो, यो बेला नाफा कमाउने, कसैलाई लुट्ने बेला होइन, तर त्यस्तै भएको छ, विनाकारण मूल्यवृद्धि गरिएको छ,’ उहाँले भन्नुभयो ।