अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको पक्षमा १२१ मत निश्चित हो : प्रमुख सचेतक भट्टराई

प्रधानमन्त्रीको पक्षमा १२१ मत निश्चित हो : प्रमुख सचेतक भट्टराई


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना नरहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभएको छ ।

आज संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीको ह्वीप सबै एमालेका सांसदहरूलाई लाग्ने विशालले स्पष्ट पार्नुभएको छ ।

कुनै सांसदले पार्टीको ह्वीप उल्लंघन नगर्ने विश्वास विशालले व्यक्त गर्नुभएको हो । अन्य पार्टीलाई एमालेको ह्वीप नलाग्ने भन्दै विशालले प्रधानमन्त्री ओलीले सबै दलसँग विश्वासको मत माग्नुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जम्मा १ सय २१ सिट जितेको हो । त्यो १ सय २१ सिट संख्या यसपटक प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा उभिन्छ । बाँकी राजनीतिक दलहरूसँग हामीले सहयोग माग्ने मात्रै हो ।’

विशालले एमाले विपक्षीमा बसेर जनताको सहयोग गर्न पनि तयार रहेको स्पष्ट पार्नुभयो । ‘अरू दललाई हाम्रो ह्वीप लाग्दैन, निर्देशन लाग्दैन । प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभएको छ । यदि विश्वासको मत प्राप्त भएन भने विपक्षीमा बसेर हामी मुलुक र जनताको सेवा गर्न तत्पर छौँ,’ प्रमुख सचेतक भट्टराई भन्नुभयो ।