अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना नियन्त्रणका लागि सबै एक हुनुपर्छ : प्रचण्ड

कोरोना नियन्त्रणका लागि सबै एक हुनुपर्छ : प्रचण्ड


चितवन- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनु भएको छ ।

केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड-१९ विशेष बिजनेश म्यागाजिनको आज यहाँ भर्चुअल माध्यमबाट विमोचन गर्दै उहाँले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताउनुभयो ।

उहाँले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।’ सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको उहाँको आरोप थियो ।

चितवनबाट प्रकाशित भएको यो म्यागाजिनले चितवन आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरे पनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘चितवन आधार क्षेत्र बनाएर देशकै अर्थतन्त्रलाई प्रतिनिधित्व गरी कोभिडलाई जोडेर तयार पार्नुभएको छ । यो प्रयास प्रशंसनीय र सह्रानीय छ ।’

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विगतका वर्षमा महानगरले कोभिड न्यूनीकरणका लागि उल्लेख्य काम गरेको भन्दै अहिले पनि महानगर उत्तिकै गम्भीर भएर काम गरिरहेको बताउनुभयो ।

कोभिड सङ्क्रमित बिरामीको उपचारमा कुनै कसर नराख्ने भन्दै उहाँले कोभिड न्यूनीकरणका लागि सबै क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।