अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीमा फेरि पनि एमाले सरकार, जनमोर्चाका थापाद्वारा विपक्षी गठबन्धनमा जान अस्वीकार

गण्डकीमा फेरि पनि एमाले सरकार, जनमोर्चाका थापाद्वारा विपक्षी गठबन्धनमा जान अस्वीकार


काठमाडौं- गण्डकी प्रदेशमा पुनः एमाले नेतृत्वमा सरकार बन्ने निश्चितप्रायः भएको छ ।

जनमोर्चाका सांसद कृष्ण थापा विपक्षी गठबन्धनमा जान नमानेपछि एमालेका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ फेरि दोहोरिने निश्चित भएको हो । अविश्वास प्रस्तावमा मतदान हुनुभन्दा अघिल्लो दिन गएको आइतबार उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।

गण्डकीमा राष्ट्रिय जनमोर्चाका सांसद थापाले विपक्षी गठबन्धनलाई सरकार बनाउन साथ नदिने हुँदा पुनः उहाँ नै मुख्यमन्त्री हुन सक्ने संकेत देखिएको हो जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिनुभयो । उहाँले साथ नदिँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बहुमत पुग्दैन । बहुमतको लागि ३१ सांसद चाहिनेमा उहाँले मत नहाल्दा ३० सांसद मात्र पुग्छन् ।

बुधबार अपराह्न ४ बजेसम्म नयाँ सरकार गठन गर्न आइतबारै प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गर्नुभएको थियो ।

अवधिभित्र नेपालको संविधानको धारा १६८(२) अनुसार गण्डकीमा नयाँ सरकार बन्नुपर्नेछ । सोअनुसार उक्त समयसीमाभित्र सरकार नबने नेकपा एमालेका गुरुङ संविधानको धारा १६८(३) अनुसार ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बन्नुहुनेछ ।

तर, ३० दिनभित्र विश्वासको मत लिँदा उनले आफ्नो पक्षमा ३१ सांसद जुटाउनुपर्ने हुन्छ ।