अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक : मन्त्री त्रिपाठी

स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक : मन्त्री त्रिपाठी


काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताउनुभएको छ ।

मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उहाँले कोभिड-१९ को रोकथाममा अहिलेको चालिएको कदम पर्याप्त नहुने भएकाले स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सो सम्बन्धमा सामूहिक निर्णय आवश्यक हुन्छ ।’ उहाँले अहिलेको अवस्थामा दोस्रो लहरको सङ्क्रमण यही गतिमा बढे सरकारसँग भएका सघन उपचार कक्ष, हाइ डिपेन्डेन्सी युनिट र भेन्टिलेटरले थेग्न नसक्ने चेतावनी दिनुभयो ।

उहाँले महामारी क्रमशः उकालो लागिरहेकाले सबैलाई सचेत रहन आग्रह गर्दै मुलुकमा अहिले अक्सिजन ग्यासको अभाव रहेकाले कालाबजारी नगर्न अनुरोध गर्नुभयो ।

मन्त्री त्रिपाठीले कोभिड-१९ विरुद्धको खोपका सम्बन्धमा नबुझी जथाभावी नबोल्न आग्रह गर्नुभयो । ‘खोप खरीदमा सरकारले कसैलाई पनि कमिशन दिएको छैन,’ उहाँले भन्नुभयो, ‘सरकारले प्रत्यक्ष खोप उत्पादक कम्पनीसँग चार डलरमा खरिद गरेको हो ।’ उहाँले ‘कोभिशिल्ड’ खोप उत्पादन कम्पनी सिरम इन्सिच्युट अफ इण्डियामा आगलागी र भारतमा सङ्क्रमण फैलिएकाले नेपालले खरिद गरेको १० लाख मात्रा खोप नआएको स्पष्ट गर्नुभयो ।

‘भारतमा पनि सङ्क्रमण बढेर निर्यात गर्न दिइएको छैन,’ उहाँले भन्नुभयो, ‘भारतले निर्यातका लागि अनुमति दिएपछि नेपालमा खरीद गरिएको १० लाख मात्रा खोप आउँछ ।’

उहाँले खोप नेपाल ल्याउनका लागि नेपालस्थित अमेरिका, रुस, चीन र बेलायतका राजदूतावाससंँग परराष्ट्र मन्त्रालयले छलफल गरिरहेको जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले स्वास्थ्य संकटकाल लगाउनेबारे मन्त्रालयले सुझाव दिइसकेकाले अब सरकारले नै आवश्यकताका आधारमा घोषणा गर्न सक्ने बताउनुभयो । उहाँले स्वास्थ्यसम्बन्धी सामग्री, उपकरण खरीद र जनशक्ति व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग रु १४ अर्ब आजै सुनिश्चित गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सकिने बताउनुभयो ।

उहाँले सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डिसिभिर सहज रुपमा उपलब्ध गराउन थालिएको जानकारी पनि दिनुभयो ।