अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिमल श्रीवास्तवको आरोप : गृहमन्त्री बन्न उपेन्द्र कांग्रेसलाई सघाउँदै छन्

बिमल श्रीवास्तवको आरोप : गृहमन्त्री बन्न उपेन्द्र कांग्रेसलाई सघाउँदै छन्


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का सांसद बिमलप्रसाद श्रीवास्तवले अध्यक्ष उपेन्द्र यादवले पद र पैसाका लागि मात्र राजनीति गर्ने बताउनुभएको छ ।

तत्कालीन उपेन्द्र नेतृत्वको समाजवादी पार्टीबाट निर्वाचित हुनुभएका बिमलले जसपाका अध्यक्ष उपेन्द्र यादवले पद र पैसाका लागि जे पनि गर्न तयार रहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘गृहमन्त्री बन्न कांग्रेस र माओवादीलाई समर्थन गर्न लाग्नु भएको रहेछ उपेन्द्र । पद र पैसाको पछाडि हिँड्ने उपेन्द्रलाई कसैको मतलब छैन ।’

समसामयिक राजनीतिक परिस्थिथिमा केपीशर्मा ओलीको साथ नछोड्ने समेत श्रीवास्तवले स्पष्ट पार्नुभएको छ । ‘प्रधानमन्त्री ओलीले हाम्रो मुद्दा सम्बोधन गर्नुभएको छ । पहिलो चरणमा थुप्रै साथीहरू छुट्नुभयो,’ श्रीवास्तवले भन्नुभयो ।

जसपा फुटाएर जानेहरूको राजनीति सकिने बिमलको दावी छ ।

अध्यक्ष महन्थ ठाकुरसँग संसद र पार्टीको कार्यकारिणी समितिमा बहुमत रहेको बताउँदै श्रीवास्तवले भन्नुभयो, ‘मधेसको मुद्दा सबै बिर्सिएर उपेन्द्रले फेरि मन्त्री पदको लागि खुट्टा उचालेर बस्नुभएको छ । मधेसका जनताले उपेन्द्रको नियत प्रष्ट बुझेका छन् । कस्तो लाज पनि नलागेको सबै मुद्दा थाती राखेर मन्त्री बन्न तयार भइहाल्नु हुन्छ । उपेन्द्रलाई देखेर लाज पनि लजाएको छ ।’

स्वार्थ केन्द्रित राजनीतिगर्नेलाई अब पार्टीमा कुनै ठाउँ नदिइने बिमलको दावी छ । उपेन्द्रका गतिविधि पार्टीमा कसैलाई सह्य नहुनेसमेत बताउँदै श्रीवास्तवले नयाँ सरकार गठन प्रक्रियामा जसपा सहभागि नहुनेसमेत स्पष्ट पार्नुभयो ।