अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दशकपछि खेजेनिममा…

तीन दशकपछि खेजेनिममा…


‘यी बग्रेल्ती ढुङ्गाहरु नभएको ठाँउमा बस्न पाए कस्तो हुँदो हो भाइ ?’ दाइले सुस्केरा छोड्दै भक्कानिएर आफ्नो ब्यथा सुनाइरहँदा आश्चर्यले बुझ्ने प्रयास गरेँ । आफू एक चित्तले दाइका कुराहरु सुनिरहेँ ।

‘फागुन बितेसँगै जाडो गएर गर्मी पलायो । वस्तु गोठ लेकको सिरेगु खर्क लैजान ढिला भइसकेको थियो। बारीभरीका छरपस्ट ढुङ्गाहरु छेउ कान्लामा थन्क्याएर धमाधम मकै छरी सकियो । वस्तुभाउ उभ्याउने ठाउँ नभएकोले खर्क लगियो । पछि सातु सामल लिन घर आएँ । सुब्बा माइलाका परिवार आफ्नो कोठेबारीमा मकै गोड्दै गरेको अचम्म देखेँ ।

‘हैन आफ्नै खेताला भए यी सुब्बा खलकहरु?’ मनमनै सम्झेर आमालाई सोधेँ ।

‘किन हुन्थ्यो नि, कुयाममा थैलो फिर्ता गरेर बडेका मकै आफैँ गोडिरहेछन् । चुँ गरेर बोल्न नपाइने यो समाजमा कहिलेसम्म बस्ने हो ठुलाभाइ ! के हामी मधेस बसाई जान सक्तैनौ ?’ आमा आफैँ भक्कानिएर सुँक्क सुँक्क रुन पो थाल्नुभयो ।

‘हैन के गरेको माल्दाइ ?’ मैले नरम भएरै सोधेँ । ‘मकै गोडेको नि !’ सुब्बा माइलाको सजिलो जवाफले मलाई सोच्न बाध्य तुल्यायो ।

अर्काको किपटमा आफ्नो त बन्धकी थैलो मात्र भएकोले, सहनुको विकल्प पनि थिएन । गोठमा माइलो भाइ पठाएँ । बुझाएको थैलोमा पाखे पैसा थपेर बीस हजार बनाएँ । भोलिपल्टै जग्गा खोज्न आफु मधेस झर्दो भएँ ।

पहाड बस्ने त मन मरेर आएकै थियो त्यसैले वर्षदिन भित्र जग्गा किन्ने ग्राहक आएपछि उसैको दाममा सुम्पिएर तड्पिएको मनलाई हलुको बनाएँ । पछि आफूलाई खान लाउन पुग्ने गरि जग्गा अरु छिन्ति जोडियो । फराकिलो समाजको,चलढालै फराकिलो । दैनिक जीवनयापनदेखि बाल बच्चाको शिक्षा दीक्षामा सहज भएको महसुस भयो । मैले सोचे झैं ढुङ्गा रहितको समाज पाएँ तर, कतै बाटामा भेटिएका मंगोल अनुहारहरु देख्दा पो आफ्नो बाल सखा भेटे झैं लाग्यो । भाषा पनि प्यारो लाग्यो नसुनेको तराईको भाषा बोल्ने त कुरै थिएन ।

कुरा ०४७ साल तिरको हो । मधेस त झरियो तर, त्यति पैसाले कहाँ र कत्ति जग्गा लिने बिलखबन्दमा परियो । राजमार्ग छेउछाउ कल्पना समेत गरिएन , जति तल झरियो आहा १ आँखाले नभ्याउने समथर फाँट आए । पहाडमा भीरको फेदीको आफ्नो ढुंगेनी गाउँलाई सम्झेँ । मानौ आफ्नो घरबारी जत्रो त एउटा खेतको गरो पो रहेछ । आफन्तहरुको खोजी गर्दै मोरङको सिजुवा पुगियो । त्यहाँ बीस हजारमा लिएको एक बिगाहा जग्गा ठेक्का लगाएर लगत्तै आफू पहाड फर्किएँ ।

पहाड बस्ने त मन मरेर आएकै थियो त्यसैले वर्षदिन भित्र जग्गा किन्ने ग्राहक आएपछि उसैको दाममा सुम्पिएर तड्पिएको मनलाई हलुको बनाएँ । पछि आफूलाई खान लाउन पुग्ने गरि जग्गा अरु छिन्ति जोडियो । फराकिलो समाजको,चलढालै फराकिलो । दैनिक जीवनयापनदेखि बाल बच्चाको शिक्षा दीक्षामा सहज भएको महसुस भयो । मैले सोचे झैं ढुङ्गा रहितको समाज पाएँ तर, कतै बाटामा भेटिएका मंगोल अनुहारहरु देख्दा पो आफ्नो बाल सखा भेटे झैं लाग्यो । भाषा पनि प्यारो लाग्यो नसुनेको तराईको भाषा बोल्ने त कुरै थिएन ।

छिमेकमा एक लाहुरे सुब्बाको घर रहेछ । र नै ‘सेवारो लुङ्गा-आधाङ्बे’ भनेर उनलाई लिम्बू टोनमा नै सम्बोधन गरिएछ । उनले आफूलाई हितैषी मित्र ठाने । अनि नयाँ ठाउँमा अरुहरु भन्दा उनै सँग राम्रो सम्बन्ध कायम भयो ।

यता तराईमा घर बनाउन ढुङ्गा नभई नहुँदो रहेछ । पहाडको चुरेबाट चर्को मोल चुकाएरै ट्रिपरले ढुवानी गरियो । खेतमा वस्तुभाउ पगाहा ठोक्न ढुङ्गै चाहिने । हलाको पाटी ठोक्न त खेतमा लुकाएरै ढुंगो राखियो, नत्र हटाएरै हैरान थियो । मलाई पहाडमा ढुङ्गा देखि एलर्जी नै भएथ्यो तर मधेस झरे पछि त त्यो भन्दा उपयोगी अरु लागेन । देशकाल र परिस्थितिले हरेकको मूल्य फरक रहेछ । अनुभवले बताई रहेछ ।

उता खेजेनिमका ध्रुव पौडेल मेरा बडिबाका छोरा । उनै दाइको चौरासीमा पुराणको निम्ता पाइयो । तीस वर्षको अन्तरालपछि फेरि आफ्नो जन्मथलो खेजेनिम जाने मौका आयो । उर्लाबारी देखि नै पक्की सडक भएकोले करिब आठ घण्टामा बसबाट ताप्लेजुङ बजार पुगियो । ‘लौ लौ , सिवाँ जाने ट्याक्सी छुट्नै लाग्यो’ गाडी स्टाफहरु कराएको सुनेर हामी सरासर ट्याक्सी चढ्यौं ।

हिरिया र हाङ्देवाको पैरो पार गरेर ट्याक्सी अगाडि बढ्यो । बाह्रै महिना चलिरहने एसियाकै बिख्यात पहिराहरु, बिकट भिर र धरतीकै उपल्लो छेउ भनेर कुटुम्बले समेत तमोर खोलेहरुलाई छोरी नदिएको पिडा छँदैछ । तर , हामी गाडीबाटै सरर सवार गरिरहेका थियौं । यात्रा उदेक लाग्दो र गौरवपूर्ण बन्यो । मितुलुङपछि आउने सिस्ने र तमोर दोभानमा त सानिमा हाइड्रोपावरको ड्याम बनिरहेको थियो । त्यसबाट उत्पन्न जल विद्युतले त आधा नेपाल झलमल्ल हुने रहेछ । हिजो बाँदरहरु समेत डराउने तारे भिरमा सडक खनेर निष्फिक्री गाडी कुदाइ रहेछौ । अझ जलाशययुक्त तमोर आयोजना पूर्वी नेपालकै गौरवको योजना भएकोले सडक पूर्वाधार त गज्जबको बन्दै रहेछ । तमोर कोरिडर सम्पन्न भए पश्चात धरानबाट करिब पाँच छ घण्टामा खेजेनिम पुगिने रहेछ । हामी साँझमा सिँवा बजार पुग्यौ, उ बेलाको र आजको सिँवामा अकाश जमिनको फरक रहेछ । हामीले सेउली कटेरी गरी स्थापना गरेको विद्यालय आज क्याम्पस बन्ने तरखरमा पो रहेछ ।’

हालसालै भएको मानाभरा महोत्सवले तमोरखोला क्षेत्रलाई कछुवाको गतिमा अघि बढाएको पाएँ । फलस्वरुप सिँवामा पक्की पुलको सुरुवात भएपछि विकासमा कोशेढुङ्गा सावित भएको छ ।

आहा ! दुर्गम भनिएको तमोरखोला क्षेत्रको प्रगतिले मन फुरुङ्ग भयो । हामी अगाडि बढ्दै बेँसी पूछारबाट तमोर नदी तरेर खेजेनिम तर्फ लाग्यौ । हिउँदमा तमोरनदी फिजाई पानी ह्युमपाइप भित्र छिराउँदै साँघुरो काठे पुलबाट ट्याक्सी, तारिदो रहेछ । धरती कै उपल्लो छेउ मानिएको मेरो जन्म भुमी यति चाडो बिकास होला भन्ने सपनामा पनि थिएन । तर आज बिपना मै भोगि रहेँछु । सायदै यो संघियताको उपलब्धि त होईन ? – एक मनले कल्पना गरेँ। जे होस् यतायातको यो सुबिधाले सुँगुर लाई चारो ख्वाउने नास्पाति ,अम्बा लगायतका फलफुलहरु आज तराईको बजारमा महँगो मुल्यमा बिक्री भएकोछ । हामी बेँसीबाट उकालो लाग्यौ । बेकामे सुकौरा पाखाहरुमा अलैची बगान देखेर छक्क परियो । अब्बल मानिएको आफ्नो सिरिसे बेँशी समेत अलैचीको जंगल भएछ । ‘ यो गाउँका मानिस के जाउलो खान्छन हँ ?’ – मैँले छेउमा बसेको भतिज जगन पौडेललाई सोधेँ । ‘ काका ! एक मन अलैचीका पैसाले बर्ष भरी बासमती खान पुग्छ । अनि किन रोप्नु पर्यो धान ? – उसले फिस्स हाँस्दै जवाफ दियो । ‘ के चिन्ता ? ‘  ‘ ए त्यसो भए आजै देखि टन्न बियर खाइने भो हगि ? ‘ – आफु ठट्यौलीले जवाफ फर्काउँदै गएँ । नभन्दै गाउँ भित्रै करोडौंको कारोबार हुन थालेको रहेछ आफु पो तीन छक्क परियो । अनिकालमा अलौटा मकै छोडाउन बेँसीमा धाउनेहरु आज अलैचीको पैसाले सहरमा चिल्ला कार चढेको सुनेँ । अहो ! पहाडले पाउलो फेरेको देखेर त कान्छा मलाई उदेक लागेको छ ‘ – दाईंका कुरा सुनेर मैले टाउको हल्लाई रहेँ ।

‘सडक बनेपछि बेरामी अकालै मर्नु परेन । अब ढाक्रेहरुका पनि दिनचर्या फेरिए हुन् । खर्कमा चौध पाथे ठेकाको मोही पाडा बाछाले नखाए पछिघ खाल्टोमा हालिन्थ्यो । तर अब छुर्पी बनाएर बजार सम्म पूर्याउन सकिने रहेछ । मैले आफु बसाई सर्दाको हैरानीलाई सम्झेँ । पिताजीलाई सुकेटार एयर्पोट सम्म पुर्याए झैं अब त ढाकर काटेर मानिसहरू बोक्नु नपर्ने रहेछ । धरानबाट ढाकरमा नुनतेल र ओलाङ्चुङ गोलाबाट आलु बोक्ने ज्यान यहि हो । तर , आज भारी बोक्ने चौरी , खच्चरहरुले समेत आफ्नो रुट कता परिवर्तन गरे हुन् ? अहो ! बोटमा फलेका लप्सीहरु कुँदाले नै सिध्याई दिन्थे तर , आज त्यसैलाइ चकलेट बनाई चुसी रहेछौ । अझैं तमोरका सबै आयोजनाहरु सम्पन्न भए मेरो जन्मभुमी , स्वर्ग भन्दा पनि शुन्दर हुने रहेछ ।

कञ्चनजंघा हिमाल र पाथिभरा देबिको काखमा रहेको ताप्लेजुङमा जल यातायात थपिए पछि पर्यटकहरुको धुइरो नै लाग्ने पक्का छ। ‘ अझ नदीमा दर्जनौ पक्की पुल हरु बन्दै रहेछन् । ताप्लेजुङको प्रसिद्ध फुङफुङ्गे झरना र मानाभरा पर्वत जाने मुल सडक त खेजेनिम, साँबा हुदै जाने रहेछ ।’ – आज बैसाखको महिना , समग्र तराई भाग गर्मी र मच्छरले आक्रान्त छ , प्राकृतिक शुन्दरता र ठणडा हावापानी त त्यहाँ पाई नसक्नुको छ । ‘ – दाईले बताई रहँदा आफै खेजेनिम पुगे जस्तो मलाई लाग्यो । नलागोस् पनि कसरी , बालापन बिताएको मानौ , त्यो मेरो माईती गाउँ , दशकौं शिक्षणमा बिताइयो । गाउँका कति अग्रजहरु बिते पनि साथीभाई र चेला-चेली हरु काफी छन् । अहो ! अब तिनीहरुका सन्तानले मलाई चिने भने बाजे भन्दाहुन समय बितेको पत्तै नहुँदो रहेछ – मैले मनमनै सोचेँ ।

दाईंका कुरा अझै बाँकी नै थिए – ‘ म्यान्जो खाउँ है सम्धी साव ! ‘ – गाउँ भित्र पुगेपछि एक पुराना सुब्बा छिमेकी ले एक थाल जुनार र फ्याण्टाको बोत्तल अगाडि राखिदिए । हिजो आफुलाई बसाई जान बाध्य पार्नेहरुको बोली ब्याबहार लाई मैले रामरी नियालेँ । ती सबै आफ्ना सम्धी साइनाका भएछन्। मावोबादी आन्दोलनपछि यूवा युवती हरुमा एउटा स्थायी नाता कायम भएछ । जो सामाजिक रुपान्तरणको माध्यम बनेछ । त्यसैले सायद , आज मानिसहरुलाई बसाईं सर्नु पर्ने बाध्यता देखिएन ।

अझ सिचाई सुबिधाले हिजोका पाखाहरु त क्वीबी , एभोकाडो , स्टोबेरी अलैची अम्लिसो लगायतको शुन्दर बगान पो बनेछ । मैले रातो दिन गानो जानेगरी पन्साए का ढुङ्गाको भाउ बढेर खपिसक्नु छैन । सिमेन्टको सुलभ ढुवानीेकारण त्यसैबाट धमाधम विल्डिङहरु बनिरहेछन् । मानौ , यी सबैलाई मैले तीन दशक पछिको युगान्तकारी परिवर्तन र जनचेतनाको एउटा महत्वपूर्ण उपलब्धि ठानेको छु ‘ – दाईंले आफ्नो जन्मस्थलको यात्रा स्मरण गराउँदा त अहो ! आफु खुसीले गदगद भई रहेछु । अस्तु ।