अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हरेक पालिकामा एउटा औद्योगिक ग्राम बनाउने सरकारको नीति छः मन्त्री भण्डारी

हरेक पालिकामा एउटा औद्योगिक ग्राम बनाउने सरकारको नीति छः मन्त्री भण्डारी


काठमाडौँ-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्राम विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताउनुभएको छ।

अछामको कमलबजार नगरपालिका-६ स्थित कातइत्यानी हात्तीबास शैक्षिक एवम् ज्ञानविज्ञान धार्मिक महामहोत्सवको आज उद्घाटन गर्दै उहाँले तीनै तहका सरकारको समन्वयमा उत्पादनको वर्गीकरण गरेर औद्योगिक ग्राम बनाइने बताउनुभयो। सरकारले उत्पादन र रोजगारीवृद्धि गर्ने नीति अख्तियार गरेको उल्लेख गर्दै उहाँले उद्योग मन्त्रालयले उद्यमशीलतामा जोड दिएको बताउनुभयो। मन्त्री भण्डारीले नेपालमा रहेका थुप्रै खनिज तथा खानी उत्खनन गर्न मन्त्रालयले नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताउनुभयो। 

त्यसैगरी चालु आवमा पूँजीगत बजेट खर्च बढाउन नसक्दा त्यसले मुलुकलाई समृद्धिको लक्ष्यमा अगाडि बढाउन केही समस्या भएको उहाँको भनाइ थियो। 'विविध कारणले पूँजीगत खर्च बढाउन सकिएको छैन। त्यसले समृद्धिको यात्रामा असर गरेको हामीले महसुस गरेका छौँ', मन्त्री भण्डारीले भन्नुभयो,'आगामी दिनमा थप सुधार हुने अपेक्षासहित हामीले काम गरिरहेका छौँ।'

सरकार न्यूनतम साझा कार्यक्रमको भावनाअनुसार अगाडि बढिरहेकाले पछिल्लो सयम आर्थिक वृद्धिदरमा केही सकारात्मक सफलता देखापरेको पनि उहाँको भनाइ छ। आगामी आर्थिक वर्षलाई सम्भावनाको वर्षका रूमा अगाडि बढाउन सरकारले निराशा चिरेर आशा जगाउने काम गर्ने र नेपाली माटोमै सम्भावनाको खोजी गर्नेसमेत उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘तीन तहका सरकारको समन्वयमा स्वदेशी उत्पादनलाई जोड दिनुपर्छ र स्वदेशी वस्तु उपभोग गर्ने नीति अगाडि सार्नुपर्छ भन्नेमा काम भइरहेकाले सोसम्बन्धी नीति चाँडै ल्याउने छौँ।’

मन्त्री भण्डारीले सुन्दरता र सम्भावनाले भरिपूर्ण सांस्कृतिक जिल्ला अछामको विकासमा उद्योग मन्त्रालयले विशेष ध्यान दिने पनि बताउनुभयो।