काठमाडौं– आर्थिक वर्ष २०७८/७९ को बजेटमा सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेकोमा एमाले नेता योगेश भट्टराईले असन्तुष्टि जनाउनुभएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट बक्तव्यमा सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा विमानस्थल नामाकरण गरिने घोषणा गर्नुभएको थियो । विघटित प्रतिनिधि सभामा ताप्लेजुङबाट सांसद हुनुभएका भट्टराईले नाम नलिई आपत्ति जनाउनुभएको हो । ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । यसरीमात्र सहभागीतामुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सहि प्रक्रियाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ,’ भट्टराईले फेसबुकमा आइतबार बिहानै लेख्नुभएको छ ।
भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले बजेट बक्तव्य सार्वजनिक भएलगत्तै सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेकोमा आपत्ति जनाउनुभएको थियो । ‘ताप्लेजुङको सुकेटार बिमानस्थलको नाम पो परिवर्तन गरेर रविन्द्र अधिकारी विमानस्थल राखिएछ । कसरी, कहाँबाट कसलाई, के खाँदा आउँछ हौ यस्तो करोडौंको ठट्टा गर्ने (कु)बुद्धि ! मेरो आदर्श मेरो आस्था मेरो विश्वास मध्येको एक स्व रविन्द्र अधिकारी प्रति सम्मान होइन अपमान हो,’ गुरागाईंले लेख्नुभएको छ ।
२०७५ साल फागुन १५ गते ताप्लेजुङ्गमा हेलिकोप्टर दुर्घटनाग्रस्त भई तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीसहित हेलिकोप्टरमा सवार पर्यटन उद्यमी आङछिरङ शेर्पालगायतको निधन भएको थियो ।
प्रतिक्रिया