अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाको संक्रमित बढिरहेको सल्लेरी गाउँलाई बचाउन तीन युवाको अभियान

कोरोनाको संक्रमित बढिरहेको सल्लेरी गाउँलाई बचाउन तीन युवाको अभियान


ओखलढुंगा- एक साताअघि जिल्लाको सिद्धिचरण नगरपालिका-८ सल्लेरी गाउँका २७ जनामा कोरोना पुष्टि भयो । सल्लेरी गाउँमा त्यतिबेला पहिलो पटक कोरोना संक्रमण देखा परेको हो । पहिलो पटकमै संक्रमण समुदायस्तरमा फैलियो ।

कोरोनाबाट गम्भीर विरामी भएका स्थानीयलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स भनेको बेला नपाइँदा समस्या हुन थाल्यो । सो गाउँका २ जनालाई ३ लाख ३० हजारका दरले पैसा तिरेर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगियो ।

आर्थिक अवस्था सामान्य भएकाहरूको यसरी उपचार गर्न सम्भव थिएन । त्यसैले कोरोनाको भुंग्रोमा परेको सल्लेरी गाउँमा थप संक्रमण फैलिन नदिन र गम्भीर विरामी भएकाहरुलाई बेलैमा उपचार व्यवस्थापन आवश्यक थियो ।

संक्रमणबाट गाउँलाई जोगाउन स्थानीय तीन युवाहरु मिलेर सहयोग अभियान थाले । गाउँमै रहेका सामाजिक क्षेत्रमा समेत सक्रिय युवा नेता सर्वधन तामाङ, देशवीर तामाङ र युकेमा रहेका दिलिपकुमार तामाङले थालेको अभियानमा वडा नं ८ का वडाध्यक्ष हेमकुमार तामाङ, बुद्धिराज तामाङ, एकराज तामाङ, धनराज तामाङलगायतले समेत साथ दिए ।

उनीहरूले आफ्नै गाउँका विभिन्न पेशा व्यवसायमा लागेकाहरुसँग आर्थिक सहयोग संकलन गर्न थाले । उनीहरुको अभियानमा अहिले ९ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भइसकेको छ ।

सो रकमबाट उनीहरुले औषधि, अक्सिमिटर, सुगर नाप्ने मेशिन, थर्मोमिट, पीपीई सेट, मास्क, सेनिटाइजरलगायतका सामग्रीहरु गाउँमा बाँडिरहेका छन् । स्वास्थ्य संस्था र कार्यालयहरुलाई वितरण गरिरहेका छन् । ‘हाम्रो अभियान गाउँमा थप संक्रमण फैलिन नदिने नै हो,’ अभियानकर्तामध्येका एक सर्वधन तामाङले भने, ‘यो अभियानबाट कोरोनाको उपचारमा समस्या भएकाहरूलाई पनि सहयोग गर्छौँ ।’

कोरोना संक्रमितलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स नपाएपछि उनीहरूले एउटा जीप मासिक भाडा तिरेर व्यवस्था गरेका छन् । जीपले वडा नं ८ को वडाभरि सेवा दिनेगरी व्यवस्था मिलाएका छन् । संक्रमितहरूलाई औषधि र अण्डा, हर्लिक्सलगायतका पोषिलो खानेकुराहरूको घरैमा लगेर वितरण गर्दै आएका छन् ।

उनीहरूको यो अभियानलाई स्वास्थ्य चौकी केत्तुकेका ईञ्चार्ज उमेश तामाङले समेत साथ दिएका छन् । उनले विरामीहरुको स्वास्थ्य अवस्था परीक्षण र सल्लाह दिँदै आएका छन् ।

आज मंगलबार मात्रै सल्लेरी गाउँमा थप २७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सो वडामा ५४ जनामा कोरोना संक्रमण देखा परिसकेको छ । संक्रमण फैलन नदिन समुदायस्तरमै बनेको युवाहरूको यो अभियान वास्तवमै उदाहरणीय छ ।