काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठनमा एमालेका १० मन्त्री र तीन राज्यमन्त्री बिदा भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि नै नियुक्त गर्नुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र विश्वासपात्र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पनि बिदा दिनुभएको छ । ज्ञवालीप्रति सामाजिक सञ्जालमा बढी सकारात्मक प्रतिक्रिया आएका छन् ।
प्रधानमन्त्रीले नचाहे पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले पनि बिदा लिनुभएको छ । आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाएपछि उहाँले स्वेच्छाले छाड्नुभएको हो ।
शेरबहादुर तामाङ विवादमा परेर राजीनाम दिएपछि कानून मन्त्री हुनुभएका भानुभक्त ढकालले यस बीचमा तीन मन्त्रालयको जिम्मा पाउनुभयो । सुरुमा कानून, त्यसपछि स्वास्थ्य र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुभएका ढकाल पनि बिदा हुनुभएको छ ।
स्वास्थ्य राज्यमन्त्रीबाट सरकार यात्रा सुरु गर्नुभएकी कृषि तथा पशुपन्छी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री हुनुभएकी पद्माकुमारी अर्यालले बिदा पाउनुभएको छ । उहाँका केही काम स्मरणयोग्य रहे ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रहनुभएका पार्वत गुरुङले पनि बिदा पाउनुभएको छ ।
उपसभामुखबाट बिदा भएपछि कानून मन्त्रालयको जिम्मा पाउनुभएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा। शिवमाया तुम्बाहाङफेले पनि एक वर्ष तीन महिना मन्त्रीको अवसर पाउनुभयो ।
गएको पुस १० मा मात्रै मन्त्रालयको जिम्मा पाउनुभएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले पनि बिदा पाउनुभएको छ ।
झण्डै डेढ वर्ष राज्यमन्त्रीको जिम्मेवारीमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत र शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरसँगै पाँच महिनाअघिमात्रै राज्यमन्त्री हुनुभएकी उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला बिकले पनि बिदावारी लिनुभएको छ ।







प्रतिक्रिया